prabhu

बाढीले पूर्वी तराईको जनजीवन प्रभावित, ठूलो धनजनको क्षति

काठमाडौं, साउन २९ । अविरल वर्षापछिको बाढीका कारण पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ । बाढीका कारण पूर्वको मोरङ, सुनसरी, झापा, मध्य तराईको जनकपुर लगायतका ठाउँमा हजारौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् । बाढी पहिरोबाट झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जना मानिसहरुको मृत्यु भएको छ भने, कैयोँ बेपत्ता भएका छन ।

बाढी बस्तीमा पसेपछि स्थानीयहरु सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । बाढी र पहिरोका कारण देशका विभिन्न भागमा ठूलो धनजनको क्षति भएको छ । पश्चिम तराईमा पनि बाढीले केही विनाश गरेको छ । खासगरी गण्डक र पूर्व कोसी नदीमा भारतले बाँधका सबै ढोकाहरु नखोल्दा नेपालको तराई क्षेत्र डुबानमा परेको हो ।
पहिरोका कारण पूर्व पश्चिम राजमार्गको दाउन्नेमा सडक खसेपछि यातायात आवागमनमा अवरोध पुगेको थियो भने अहिले सो मार्गबाट जाने आउने पालैपालो एकतर्फी सवारी साधन सुचारु भएको छ । । बाढी पहिरोका कारण भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहराहरु बाढि पहिरोको जोखिममा छन् । पूर्वी तराई डुबानमा परेपनि सरकारको राहत र उद्दार कार्यमा भने ढिलाई भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल बाढीग्रस्त क्षेत्रमा राहत र उद्दार अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । त्यस्तै उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले कोसी बराजका ढोका खोल्न भारतसँग आग्रह गरेका छन् । तल्लो तटीय क्षेत्रमा डुबानको खतरा देखाउँदै भारतले वर्षायाममा कोसी बराजका ढोकाहरु बन्द गर्दा नेपालतर्फ डुबान हुने गरेको छ । यसअघि २०६५ सालमा पूर्वी तराईमा ठूलो बाढीका कारण महेन्द्र राजमार्ग लामो समयसम्म अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *