Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सङ्घर्षले निखारिएकी बजारी हिम्मत जुटाएर च्याउखेतीमा

सङ्घर्षले निखारिएकी बजारी हिम्मत जुटाएर च्याउखेतीमा

च्याउ खेतीले ल्यायो पूर्व कमलरी बजारीको जीवनमा खुशी

कैलाली, १३ माघ । हँसिलो मुहारकी बजारी चौधरीलाई देखेर लाग्छ संसारै जितेको खुशी उनीसंग छ । सुख, सयलको माला गाँसेर जीवन चलेको होला । तर, जब विगतको कुरा जोडिन्छ । उनको धपक्क बलेको अनुहारमा एकाएक दुःखको तुवाँलो लाग्छ । भावुकताले नयन छचल्किन्छन् । किनभने कमैया, कमलरी दुवै अवस्थाको पीडा बजारीको मनमा ताजै छन् ।

आफ्नो, घरजग्गाा नहुँदा विगतमा कमैया, कमलरी, बुक्रही सबै अनुभव सङ्गालेकी बजारी चौधरीको जीवन अहिले सफलताको शिखरतिर लम्केको छ । सङ्घर्षकैबीच अर्को सङ्घर्षको रुपमा व्यायसायिक च्याउखेतीमा अग्रसर भएपछि बजारीको जीवनमा खुशी फर्किन थालेको हो । कमैया मुक्ति घोषणा भएको एक वर्ष ढिला मालिकको घरबाट मुक्त भएपछि केहि वर्ष मजदुरी गरेर गुजारा गरेकी उनी विगत पाँच वर्षयता च्याउखेतीमा सक्रिय छिन् । रातो कार्ड प्राप्त उनको परिवारले धनगढी उपमहानगरपालिका–८ राधाकृष्ण मुक्त कमैया बस्तीमा एक कट्ठा जग्गा पाएपछि यस्तो अवसर मिलेको हो ।

विगतमा सानो इकाईमा च्याउखेती गरे पनि यो वर्ष तीन वटा घर बनाएर ३७१ वटा पोका च्याउखेती गरेको बजारीले बताइन् । उनले यो वर्ष हालसम्म साढे तीन क्वीन्टल च्याउ बिक्री गरिसकेकी छन् । ‘अहिलेसम्म ८० हजार रुपैयाको हाराहारीमा च्याउ बेचिसकेको छु’, चौधरी भनिन्– ‘माग धेरै छ । तर, पूर्ति गर्न सकेको छैन ।’

बजारीले यो वर्ष एकैदिन ७० किलोसम्म च्याउ बेचेकी छन् । ४८ हजार रुपैया लगानी गरेर च्याउखेती गरेकोमा लगानी कटाएर अब नाफातिर गइरहेको उनले बताइन् । गतवर्ष १० हजार लगानी गरेर उनले गरेको च्याउखेतीबाट सबै खर्च कटाएर एक लाख २५ हजार रुपैया आम्दानी भएको थियो ।

विद्यालयको ढोकासम्म पनि पुग्न नपाएको बजारीको २०४० सालबाट धनगढी स्थित थारु परिवारकै घरबाट कमैया जीवन सुरु भएको थियो । त्यस अगाडि उनले कमलरीको रुपमा काम गरेकी थिइन् । २०४० मा श्रीमान कुइरे चौधरीसंग विवाह गरिसकेपछि बुक्रहीको रुपमा श्रम बेचिन । पिठ्युमा बच्चा बोकेर गोबर सोहरेको, कालो भाँडा माँझेको विगत सम्झँदा अझै उनको नयन छचल्किने गरेका छन् । वर्षभरी कमैयाको रुपमा काम गरेर पाइने सीमित धान, गहुँ र कपडाले जीवन जिउनै गाह्रो थियो । उनकै शब्दमा भन्नुपर्दा अत्यन्त कहाली लाग्दो अवस्थामा सङ्घर्षमय दिनरात बिते । वर्षभरी काम गर्दा खान पुगेको थिएन । बालबालिकाले राम्रो लत्ताकपडा लाउन पाएका थिएनन् ।

‘साह्रै दुःख गरेर यहाँसम्म आइपुगेका हौं’, मेक्सीको एक कुनाले गहभरीको आँशु पुछ्दै बजारी भनिन्–‘अब त त्यो दिन सम्झिन पनि मन लाग्दैन । सम्झ्यो की भक्कानो फुट्छ ।’

त्यसबेलाको सङ्घर्षले निखारिएकी बजारी हिम्मत जुटाएर च्याउखेतीमा लागेकी हुन । यो व्यावसायबाट अहिले चार जनाको परिवारमा रोजीरोटी मज्जाले चलिरहेको छ । च्याउ फुलेजस्तै यी पूर्व कमैया बजारीको परिवार फक्रिन थालेको छ । अब आफै आत्मनिर्भर भएर काम थालेपछि इच्छाएको खाना, लाउन पाएको उनले बनाइन् । ‘एक सिजनको च्याउखेतीबाट ५०÷६० हजार मज्जाले बचत हुन्छ’, उनले थपिन्–‘श्रीमान पनि मिस्ट्री काम गर्दै आएको कारण घर व्यवहार चलाउन सजिलो भएको छ । श्रीमानले आफ्नो काम सकेर च्याउखेतीमा मलाई सघाउने गर्नुहुन्छ ।’

स्वरोजगार भएपछि मुक्तिको वास्तविक अनुभव गर्न पाएको उनी बताउँछिन् । अचेल पिंजडाबाट स्वतन्त्र बनेको पंक्षीझै आभास भएको बजारीको भनाइ छ । उनले आफूले उत्पादन गरेको च्याउ धनगढीमा लाग्ने हाट बजारमा बिक्री गर्दै आएको सुनाइन् । त्यसका अतिरिक्त कञ्चनपुरस्थित आइबीआरडीका केहि ग्राहक च्याउ किन्न बजारीको घरमै पुग्ने गरेका छन् । उत्पादित च्याउ बजारीकरण गर्नमा कुनै समस्या नरहेको बरु माग अनुसार दिन नसकेको उनले बताइन् ।

च्याउ कृषकले खुद्रामा यसवर्ष प्रतिकिलो दुई सय रुपैयामा च्याउ बिक्री गरिरहेका छन् । आफू कहाँ थोकमा किन्ने ग्राहक समेत पुग्ने गरेको भन्दै बजारीले प्रति किलो डेढ सय रुपैयामा थोकमा च्याउ बिक्री बताइन् । आगामी दिनमा च्याउखेती बढाउँदै लैजाने उनको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत पहिलो वर्ष ४० हजार रुपैया अनुदान दिएपछि बजारीको च्याउखेतीमा खाता खुलेको हो । अहिले अन्य खेती वा काम भन्दा च्याउखेतीनै सजिलो र राम्रो लाग्ने गरेको उनी बताउँछिन् । कमैया मुक्तिपछि अझै पनि कतिपय पूर्व कमैया परिवारको जीवन सङ्घर्षमय छ । खाना लाउन समस्या छ । अरुको मुख ताकेर बाँच्नु भन्दा आफै बाख्रा, कुखुरा पालन वा तरकारी खेती गरेमा कमैया परिवारको सुखको दिनपनि टाढा नरहने बजारीको बुझाइ छ ।

च्याउ बजार फराकिलो हुदै गएपछि कैलालीमा च्याउखेती गर्ने पनि बढ्दै गएका छन् । यसवर्ष ३० वटा समूहले सामूहिक रुपमा र ४० जना किसानले व्यक्तिगत रुपमा च्याउखेती गरेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जानकारी दिएको छ । सो कार्यालयका बाली विकास अधिकृत कोमल शाहीले च्याउखेतीमा किसानको आकर्षण बढेको बताए ।

कोसेली समाचार बाट

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x