Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बीमा कम्पनीका सीईओको तलब सुविधामा नियामकको अंकुश

बीमा कम्पनीका सीईओको तलब सुविधामा नियामकको अंकुश

काठमाडौं, पुस २। बीमा क्षेत्रको नियामक बीमा समितिले बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब सुविधामा अंकुश लगाएको छ । बीमा समितिले परिपत्र जारी गरी बीमा कम्पनीहरुलाई सीईओको तलब तथा अन्य सुविधाहरु तोकेको हो । खुला बजार अर्थतन्त्रमा नियामक निकायले सीईओको तलब सुविधा तोक्ने या नतोक्ने सम्बन्धमा लामो बहसपछि बीमा समितिले बीमा क्षेत्रलाई विवेकी नियमहरुबाट मार्गनिर्देश गर्नका लागि यस्तो सुविधा तोकेको हो । खासगरी बजारमा नयाँ बीमा कम्पनीहरुको आगमनपछि यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा नहोस् र प्रमुख कार्यकारीको असीमित तलब सुविधाका कारण थप समस्या नआउन भनेर निर्देशन जारी गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
बीमा समितिले जारी गरेको निर्देशन अनुसार, बीमा कम्पनीहरुले पछिल्लो तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको ६ प्रतिशत भन्दा बढी तलब सुविधा सीईओलाई दिन नपाइने व्यवस्था गरेको छ । यसरी सुविधा दिदाँ कम्पनीको पछिल्लो तीन वर्षको वासलातमा उल्लेख कुल सम्पत्तिको औसतको ०.५ प्रतिशत नाघ्न हुँदैन । उल्लेखित कुल कर्मचारी खर्चको ६ प्रतिशत या कुल सम्पत्तिको ०.५ प्रतिशत मध्ये जुन कम हुन्छ, त्यहीभित्र रहेर सीईओको तलब, सुविधा तोक्नुपर्छ । अर्कोतर्फ नयाँ कम्पनीहरुले पनि बीमा कम्पनीहरुको तीन वर्षको औसत कर्मचारी खर्चको ६ प्रतिशत वा कुल सम्पत्तिको ०.५ प्रतिशतलाई नै आधार मान्नुपर्ने हुन्छ । यद्यपि नयाँ कम्पनीहरुले सीईओलाई पहिलो चरणको करार अवधिमा बीमा उद्योगको औसतभन्दा बढीमा १५० प्रतिशतसम्म तलब सुविधा दिनसक्नछन् तर यसका लागि उनीहरुले कारण खुलाउनुपर्ने हुन्छ । अर्कोतर्फ, बीमा कम्पनीहरुले बोनस र अन्य इन्सेन्टिभ दिदाँ सीईओको तलबको ७० प्रतिशत नाघ्न हुँदैन । यस्तो इन्सेन्टिभ तलबको ४० प्रतिशतमात्र सीईओका लागि निष्काशन गर्न सकिन्छ । ७० प्रतिशतमध्ये बाँकी रहेको इन्सेन्टिभ ‘रिजर्भ फण्ड’ मा जम्मा हुन्छ र उक्त रिजर्भ फण्ड कम्पनी घाटामा गए कम्पनीका लागि प्रयोग हुन्छ जुन पछि पनि सीईओको व्यक्तिगत प्रयोजनका लागि फिर्ता हुँदैन ।
त्यस्तै, बीमा कम्पनीहरुले सीईओका लागि जीवन बीमा, दुर्घटना बीमा गरिदिन र प्रिमियम तिरिदिन सक्छन् । सीईओका एकाघरका परिवारले पनि स्वास्थ्य बीमा सुविधा निःशुल्क पाउँछन् । अर्कोतर्फ सीईओलाई बाह्य देशहरुमा यात्रा गर्दा ट्राभल र मेडिकल इन्स्योरेन्स उपलब्ध हुन्छ । कम्पनीले कर्मचारीका लागि छुट्याएको सेयर निश्चित मूल्य तिरेर सीईओले पनि निश्चित इकाई खरिद गर्न सक्छ । अर्कोतर्फ सीईओलाई कम्पनीले इन्टरनेट, मोबाइल फोन तथा यसको बील, ल्यापटप, इन्धन तथा चालक खर्च जस्ता सुविधाहरु दिन सक्छ । अर्कोतर्फ, बीमा कम्पनीहरुले सीईओको तलब तथा सुविधा तोक्दा कम्पनीको सोल्भेन्सी, बीमा बजार तथा कम्पनीको वित्तिय अवस्था, बीमा नवीकरण दर, बीमा परित्यागको अवस्था लगायत विभिन्न पक्षमा ध्यान दिनुपर्छ । अहिले बजारमा १७ जीवन बीमा कम्पनी तथा सोही संख्यामा निर्जीवन बीमा कम्पनीहरु छन् । ८ जीवन बीमा कम्पनी भर्खरै सञ्चालन अनुमतिपत्र पाएर सञ्चालनमा आएका हुन्, त्यस्तै बीमा समितिले तीन निर्जीवन बीमा कम्पनीका लागि पनि सञ्चालन अनुमतिपत्रका लागि आशयपत्र दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x