Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

तराईका बाढीपीडीतको पुनर्स्थापनामा चीनको सहयोग

तराईका बाढीपीडीतको पुनर्स्थापनामा चीनको सहयोग

काठमाडौं, २८ पुस । गणतन्त्र चीनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यमा बाढीले क्षति पु¥याएका तराइका सात जिल्लाका बाढीपीडितलाइ सहयोग गर्न चालिस लाख अमेरिकी डलर अर्थात् ४० करोड ८५ लाख रुपैयाँ उपलब्ध गराएको छ । यस सहयोगले प्रदेश नं. १ को सुनसरी र प्रदेश नं. २ का सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, रौतहट र पर्सा जिल्लाका ३१ हजार ८ सय घरपरिवारको पुनर्स्थापना गरिनेछ ।

चीन सरकारले यो सहयोग २०७४ सालमा तराईमा आएको बाढीले गरेको ठूलो बिनास र विस्थापनलाई सम्बोधन गर्न उपलब्ध गराएको हो । गत श्रावणमा तराईका जिल्लाहरुमा ६० वर्षयताकै ठूलो वर्षा भएको थियो जसले ३५ जिल्लाहरु डुबानमा पर्नुका साथै १३४ जनाको ज्यान गएको थियो । यसबाहेक ४३ हजार घरहरु पूर्ण रुपमा ध्वस्त भए भने एक लाख ९२ हजार घरहरुमा आंशिक क्षति पुग्यो साथै हजारौ घरपरिबार विस्थापनमा परे । तराईका ८० प्रतिशतभन्दा बढी भूभाग डुबानमा परे । डुबान र बाढी लगत्तै नेपाल सरकारले गरेको प्रारम्भिक अध्ययन ले १७ लाख व्यक्ति बाढीले प्रभावित भएको औल्याएको थियो ।

यस परियोजनाले नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत बाढी पुनर्निर्माण तथा पुनर्स्थापना परियोजनासंगको सहकार्यमा पुर्नस्थापनाको प्याकेज तथा घरधुरी पहिचान गरेको हो । स्थानीय तहमा भने परियोजनाले निर्वाचित नयां स्थानीय सरकारसंग सहकार्य गरी गैर खाद्य सामग्रीसहितको प्याकेज—सल, कम्बल, खाना पकाउने भाँडाकुँडा, किटाणु प्रतिरोधी झुल, धुवाँरहित चुलो र स्वच्छता सामग्री वितरण गर्नेछ ।

‘गणतन्त्र चीन सरकारले नेपालका बाढी पिडितलाई पुर्नस्थापनाका लागि दिएको अत्यावश्यकीय सहयोगको लागि नेपाल सरकार धन्यवाद ज्ञापन गर्न चाहन्छ,’ बाढी पुनर्निर्माण तथा पुर्नस्थापना परियोजनाका प्रमुख सुमन कुमार कर्णले भने ।
उक्त सहयोग नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले युएनडीपीका राष्ट्रिय निर्देशक रेनोल्ड मेयरलाई हस्तान्तरण गरेकी हुन् । ‘गत श्रावणमा बाढी आएलगतै चीन सरकारले १० लाख अमेरिकी डलर सहयोग प्रदान गरेको थियो भने अहिले अर्को चालिस लाख अमेरिकी डलर सहयोग गर्न लागेका छौं,’ राजदूतले भनिन्, ‘हामीले युएनडीपीको सहकार्यमा प्रदान गर्न लागेका यी सामग्रीले बाढीपिडितको पुर्नपस्थापनामा सहयोग पुयाउनेछ आशा राखेका छौं ।’

वितरण प्रक्रियालाई चुस्त र पारदर्शी बनाउन माइक्रोसफ्टको प्राविधिक सहयोगमा युएनडीपीले मोबाइल एपको प्रयोग गरेको छ । प्रत्येक घरधुरीको विस्तृत विवरण यो प्रणालीको अभिलेखमा रहनेछ साथै हरेक घरमूलीलाई क्यू आर कार्ड उपलब्ध गराइनेछ । आफूलाई पायक पर्ने नजिकको वितरण केन्द्रमा सामान बुझ्न आउँदा यो कार्ड अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x