Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

‘औद्योगिक क्षेत्र विकास बिना आर्थिक संवृद्धि कोरा कल्पना’

‘औद्योगिक क्षेत्र विकास बिना आर्थिक संवृद्धि कोरा कल्पना’

काठमाडौं, २१ फागुन । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उद्योग धन्दाको विकास विना समृद्धिको कल्पना केवल कोरा कल्पना मात्र हुने हुँदा उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि असल औद्योगिक सुसम्बन्धको आवश्यकता सरकार, उद्यमी र श्रमिक बीच रहनु पर्ने आवश्यकतामा जोड दिएका छन् ।
मन्त्री यादवले उक्त कुरा नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा व्यक्त गरेका हुन । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकीकरण, उपभोक्ताहरुको हीतको लागि माल वस्तु सहज, सरल र नियमित आपूर्ति हुनु पर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतका क्रियाकलापहरुलाई एकीकृत योजना बनाई कार्यान्वयन तीव्रताका साथ गरिनेमा आफू दृढ संकल्पित रहेको बताउँदै आर्थिक क्षेत्रको तीव्र विकास एवं सुशासनको प्रत्याभूति दिन भ्रष्टाचारमा शुन्य सहनसिलता अपनाउने बताए । जो भ्रष्टाचारमा लिप्त थियो ऊ त्रसित भएमा अझ बढी त्रसित बनाउने र भ्रष्टाचारीलाई कारवाही गर्नमा वाम गठबन्धनका दुबै शीर्ष नेताहरुको सार्वजनिक वक्तव्य आइसकेको हुँदा कारवाही गर्न अझ सहज र सजिलो हुने बताए । साथै उद्यमीले मजदूरसँगको सुसम्बन्ध राम्रो राख्दै सरकार उद्यमी व्यवसायीसँग सहकार्य गर्न सदा तत्पर रहेको र यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको र त्यस्तो सहयोग, सहकार्यको अपेक्षा सरकारले गरेको बताए ।
सो अवसरमा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई बधाई तथा शुभकामना दिदै नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्त शर्माले कार्यकालको पूर्ण सफलताको कामना गरे । औद्योगिक क्षेत्रको विकास एवं उत्थानको लागि सरकारसँग सहकार्य गर्न निजी क्षेत्रले सरकारलाई अभिभावकको रुपमा हेरेको र सरकार यो प्रक्रियामा चालक भएर निजी क्षेत्र त्यसको प्रभावकारी इञ्जिन हुन तयार रहेको बताए ।
छिमेकी मुलुकले यस उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन क्षेत्रमा गरेको तीव्रतर आर्थिक विकासबाट नेपालले पनि लाभ लिनु पर्ने र नवनियुक्त मन्त्रीको कार्यकालमा आधारभूत भइ औद्योगिकीकरणले तीव्रता पाउने वाणिज्य क्षेत्रमा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय व्यापार विस्तार भइ निकासी प्रवद्र्धन भइ व्यापार घाटा उल्लेखनीय रुपमा घट्न जाने र आपूर्ति व्यवस्थापनमा समेत सरल, सहज र नियमित आपूर्ति व्यवस्थापन भइ उपभोक्ताको अधिकतम् हीत हुनेमा निजी क्षेत्र विश्वस्त रहेको र यस कार्यमा परिसंघ संघीय निकाय लगायत सम्बन्धित निकायसँग सहकार्य गर्न तत्पर रहेको बताए ।
सो अवसरमा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x