लयमा फर्कदै नेपालको पर्यटन, यस वर्ष नेपाल घुम्ने पर्यटकको संख्या १० लाख नाघ्ने व्यवसायीको आकलन 

काठमाडौं, २० असोज । यस वर्षको पर्यटकीय मुख्य सिजन सुरू भएसँगै पर्यटक आगमन बढ्न थालेको छ । व्यवसायीहरुका अनुसार होटल, ट्राभल, ट्रेकिङ लगायत सबैतर्फको बुकिङ उत्साहजनक देखिएको छ । दुई वर्षअघिको भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र यस वर्षबाट लयमा फर्किएको व्यवसायी बताउँछन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१७ को आठ महिनामा करिब ६ लाख पर्यटक नेपाल भित्रिसकेका छन् । यो तथ्यांकले पनि नेपालमा विदेशी पर्यटकको चाप बढेको प्रस्ट हुन्छ । यो सिजनमा विशेष गरी अमेरिकन, अस्ट्रेलियन तथा क्यानडियन पर्यटक नेपाल आउने गर्छन् । चिनियाँ र भारतीय पर्यटक भने हरेक समय आउने गरेको पाइन्छ । आगामी दिनमा पर्यटक आगमन थप बढाउन सरकारले पर्यटकीय पूर्वाधार निर्माण र प्रचार प्रसारमा विशेष जोड दिनुपर्ने होटल संघ नेपाल (हान)का महासचिव विनायक शाह बताउछन् ।

बोर्डको तथ्यांक अनुसार सन् २०१५ मा पाँच लाख ५४ हजार र २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो वर्ष त्यो संख्या बढेर १० लाख नाघ्ने आकलन व्यवसायीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *