यसकारण नेपालले अव ई–कमर्समा जोड दिनुपर्छ

रत्नाकर अधिकारी (व्यापार विज्ञ)

ई–कमर्स भनेको अनलाईनको माध्यमबाट व्यापार गर्नु हो । यसका लागि इन्टरनेटको पहुँच, कम्प्युटर वा स्मार्टफोन आवश्यक पर्दछ । जसमार्फत आफुलाई नचाहिने बस्तु बेच्न र चाहिने बस्तु खरिद गर्नु सकिन्छ । विश्वव्यापी रुपमा हेर्ने हो भने विजनेस टू विजनेस (विटूवि) कन्जुमर टू कन्जुमर (सिटुसि) ट्राज्याक्सनको अवधारणा पनि अहिले आइरहेको छ ।

सूचना प्रविधिको विकाससँगै नेपालले पनि ई–कमर्समा पाइला अघि बढाउदै छ । एक तथ्यांक अनुसार अहिले नेपालमा ७५ मिलियन डलर बराबरको मात्र इ–कमर्स कारोबार हुने गरेको छ । यसमा ठमेल डटकम, मुन्चा डटकम देखि ईसेवा र पछिल्लो पटक विकास भएको ईकमर्सले निकै प्रगती भएको देखाउछ ।

यसले चाहि आम उपभोक्तालाई सहजता मात्र नभई व्यापारमा समेत बृद्धि हुन जान्छ । त्यसले गर्दा पनि ई–कर्मसलाई विशेष चासोको रुपमा हेर्नु पर्छ । किनकी यसले कुनै पनि क्षेत्र, भुगोल, देश र कम्पनीको आकार के छ भन्ने कुरा हेर्दैन । विश्वव्यापी व्यापारलाई नै यसले डेमोटराईज गर्ने काम गरेको छ । बहुराष्ट्रिय कम्पनीले मात्र होइन साना–साना व्यापारीहरुले पनि आयात–निर्यात गर्न सक्ने वातावरण सृजना गरिदिन्छ ।

अहिले विश्वव्यापी बजार एकदमै ग्रो भइरहेको छ । २५ ट्रिलियन डलर बराबरको पूँजी पुगि सकेको छ । त्यो पनि सन् २०१५ को तथ्यांक हो । सन् २०१७ मा त्यो आकार अझ बढेको छ । यसमा पनि बिटिसिको कम्पोनेन्ट ठुलो छ । बिटिसिमा अमेरिकालाई चीनले पछि पारिसक्यो । एसियाली मुलुकहरुमा पनि त्यो ग्रो भइरहेको छ । उनीहरुसँग जुन प्रविधिको उपलब्धता छ । त्यसबाट हामीले पनि सिक्ने हो भने धेरै अवसरहरु छन् ।

पूर्वाधार, व्यापार सहिजकरण र एक्सेस टू फाइनान्स जस्ता कुराको चुनौती यथावत रहदा रहदै पनि हामी चाहि अहिले नै इ–कमर्समा नजोडिने हो भने अव धेरै पछि पर्छौ । अहिले इ–कमर्स रेडिक्नेशन इन्डेक्समा नेपाल १०८ औ स्थानमा छ । यो भनेको सार्क राष्ट्रहरुमा अलि तल्लो तह नै हो । श्रीलंका, ७३, भारत ७८, भुटान १०३ औं स्थानमा छ । पाकिस्तान र अफगानस्तान हामी भन्दा अलि तल छ । तर, हामीले तलकोलाई हेरेर चित्त बुझाउनु भन्दा पनि कसरी माथि उक्लन सक्छौ भन्ने कुरा सोच्नुपर्छ ।

इ–कर्मसका लागि हामीसँग समस्याहरु छन् त धेरै छन् । त्यसमा पनि मुख्य समस्या केही मात्र छन् तिनीहरुलाई चाहने हो भने छिटै सम्बोधन गर्न सक्छौ । एउटा समस्या भनेको पेमेन्ट गेटवेको हो । अहिले हामीले गरिरहेको आयात÷निर्यात दुबैलाई सहज बनाउन नेपालमा सबैभन्दा पहिला पेमेन्ट गेटवेको सिष्टिम हुनुपर्छ । त्यस्तै हामीले पनि पेमेन्टको संस्कारमा सुधार गर्न आवश्यक छ । सरकारले विभिन्न किसिमका अवधारणहरु ल्याएको छ तर इ–पेमन्ट अवधारण अझै ल्याएको छैन । त्यो तयार गर्नुपर्छ । त्यो अवधारणमै विश्वव्यापी स्थानलाई एक वर्षभित्रमा १०८ बाट १००, दोस्रो वर्षमा ९० मा र तोस्रो वर्षमा ७०–८० मा पुग्छौ भन्ने लक्ष्य निर्धारण गर्नुपर्छ । अर्को दक्षिण एसियामा हामी दोस्रो हुन्छौ भन्ने लक्ष्य राखेर पनि अघि बढ्न सक्छौ ।

त्यस्तै दक्ष जनशक्ति अर्को समस्या हो । तर, हाम्रो देशमा जनशक्ति नभएको होइन आइटी सम्बन्धि दख्खल राख्ने जनशक्तिहरु उत्पादन भइरहेका छन् । तिनीहरु चाही जवमा एब्जर्भ हुन सक्ने अवस्था छैन । कोही विदेशमा गएर थप बढ्नुपर्ने वा विदेशै गएर जागिर खानुपर्ने अवस्था छ । यहाँको जनशक्तिलाई यही प्रयोग गर्नका लागि हामीले गर्न सक्ने के हो भन्दा नीजि क्षेत्रको पहलमा नीजि क्षेत्र र शैक्षिक संस्थाहरु छलफल गरेर आवश्यकता अनुसार पाठ्यक्रम विकास गरेर पढाउने हो भने नेपालमा आइटी पढेका जनशक्तिले नेपालमै रोजागरी पाउने प्रवल सम्भावना छ । काम नै गर्नुपर्छ भन्ने पनि छैन । आफैले कम्पनी खोल्न पनि सकिन्छ । त्यसका लागि भेन्चर क्यापिटल जस्तो इनिसियटिभ पनि नेपालमा आइरहेको छ । यतिमात्र होइन विस्तारै–विस्तारै बैंक तथा वित्तिय संस्थाहरुले पनि आइडीयालाई लोन दिन थालेका छन् ।

समग्रमा भन्ने हो भने इ–कमर्सको सम्भावना धेरै छ । त्यसमा चुनौती पनि छन् । तर चुनौतीहरु छन् भनेर डराएर बस्ने भन्दा त्यो अवधारणबाट कसरी फाइदा लिने भन्ने तर्फ हामी सबैको ध्यान जान जरुरी छ ।

( यो सामाग्री व्यापार विज्ञ एवं इन्ह्यान्स इन्ट्रिग्रेटेड फेमवर्क (ईआईएफ) का कार्यकारी निर्देशक अधिकारीसँग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *