Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनएमबि बैंकको एफपिओ आजबाट संस्थागत लगानीकर्ताहरुलाई बिक्री खुल्ला

एनएमबि बैंकको एफपिओ आजबाट संस्थागत लगानीकर्ताहरुलाई बिक्री खुल्ला

काठमाडौं, ४ असार । एनएमबि बैंकले जारी गरेको थप सार्वजनिक निष्काशन (एफपिओ) का लागि आज सोमबारबाट संगठित संस्थाहरुलाई समेत बिक्री खुल्ला गरेको छ । बैंकले सो एफपिओ छिटोमा जेठ ३० गतेदेखी असार ३ गतेसम्मका लागि बिक्री खुल्ला गरेको थियो ।
उक्त एफपिओमा आइतबार साढे पाँच बजेसम्म एक अर्ब ७५ करोड रुपैयाँ बराबरको आवेदन परेको जनाइएको छ । बैंकले नियुक्त गरेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले दिएको जानकारी अनुसार ५२ हजार ३०० बढी आवेदकबाट ५२ लाख ५५ हजार कित्ता सेयर माग भएको छ ।

नागरिक लगानी कोषले एफपिओमा आइतबार तथाङ्क संकलनको क्रम जारी रहेकाले माथिको तथ्याङ्क अन्तिम नभएको समेत स्पष्ट पारेको छ ।

कोषले उपलब्ध गराएको तथ्याङ्क अनुसार निष्काशित एफपिओको ४६ प्रतिशत मात्र विक्री भएको छ । अझै ५४ प्रतिशत एफपिओ विक्री हुन बाँकी रहेको छ । चार दिनको अन्तिम तथ्याङ्क अनुसार पनि सबै सेयर सर्वसाधारण लगानीकर्ताबाटै विक्री नहुने छाँटकाँट देखिएपछि कोषले सोमबारदेखि संस्थागत लगानीकर्तालाई समेत एफपिओमा आवेदन खुला गर्ने भएको छ ।

एफपिओमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ता धेरै भएपनि अधिकांश लगानीकर्ताले १० कित्ता सेयर माग गरेपश्चात अपेक्षित विक्री हुन नसकेको हो ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन गर्न सकिने बैंकको शेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । मेरो शेयर प्रयोकर्ताले भने घरमै बसेर इन्टरनेटको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

बैंकले संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बिक्री गर्न लागेको हो । एफपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब १४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी थपिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख नाघ्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले थप ४० करोड रुपैयाँ पूँजी विस्तार गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x