Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दशैका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकारको आग्रह यातायात व्यवसायीले मानेनन्

काठमाडौं, ३० भद्रौ । यातायात व्यवसायीहरुले विगतमा दशैका लागि एक महिना अघि नै बसको अग्रिम टिकट खुलाउने गरेपनि यसपटक भने आनाकानी गरेका छन् । असार मसान्त देखि यातायात समिति खारेज गरेपछि सरकारले अग्रिम बुकिङ खुलाउन आग्रह गरेपनि व्यवसायीहरुले अटेर गरेका हुन ।

सरकार र यातायात व्यवसायीको आ–आफ्नै अडानका कारण यात्रु समस्या पर्न सक्ने देखिएको छ । सिन्डिकेट हटाउन यातायात व्यवस्था विभागले ठोस कदम चालेपछि असन्तुष्ट यातायात व्यवसायीले दसैंको मौका छोपेर सरकारसँग आफ्नो बदला लिने सङ्केत देखाएका छन् ।
दसैंको समयमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने यातायात विभागको अनुमान रहेको छ । विभिन्न जिल्लाबाट उपत्यका भित्रिने सार्वजनिक सवारीको संख्या करिब ३ लाख ५० हजार छ । दसैंका लागि काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने बस, माइक्रो र सुमोको अग्रिम टिकट बुकिङ्ग भदौ २४ गते आइतबारबाट खोल्ने सरकारको तयारी थियो ।

यातायात व्यवस्था विभागको यस्तो निर्णय पश्चात सिन्डिकेट हटाउने नाममा सरकारले आफूहरुमाथि अन्याय गरेको भन्दै व्यवसायीले सरकारी कदमको विरोध गरेका छन् । आफूहरुले अघि सारेका माग पूरा नभएसम्म अग्रिम टिकट बुकिङ खोल्ने नसकिने अडान व्यवसायीहरुको रहेको छ । साथै व्यवसायीले पाटपुर्जा र तेलको भाउ बढे पनि सरकारले अहिलेसम्म भाडा समायोजन नभएको भन्दै भाडा बढाउनुपर्ने माग गरेका छन् । इन्धनको बढ्दो मूल्लाई हेर्दै सरकारले सार्वजनिक यातायातको भाडादरमा आवश्यक हेरफेर गर्न नसक्दा सरकारी भाडादर उल्लंघन गर्दै व्यवसायीले यात्रुबाट आफुखुसी भाडा उठाउने गरेको गुनासो बारम्बार यात्रुहरुले गर्ने गरेका छन् ।

यातायात क्षेत्रमा व्यवसायीहरुको एकाधिकार रहेको भन्दै यातायात व्यवस्था विभागले चैत १८ गते नयाँ निर्देशिका जारी गर्दै यस क्षेत्रमा व्यवसायीको एकाधिकार तोडेकोे थियो । यातायात संघ, समितिमा दर्ता भएका कारण सार्वजनिक भाडाका सवारीबाट उठ्ने राजस्व वर्षै देखि सरकारी ढुकुटीमा जम्मा नभएपछि यस्ता संघ, समितिको दर्ता र नवीकरण असार मसान्तबाट रोकिएको छ । गृह मन्त्रालयले प्रत्येक जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै सो मितिबाट यातायात संघ, समितिको दर्ता र नवीकरण रोकेको हो । साथै सरकारले जेठमा देशभरका यातायात संघ, समितिका नाममा रहेका २ सय ४० भन्दा बढी बैंक खाता रोक्का गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x