Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शेयर बजारमा गिरावट आउनुको कारण पुँजीवृद्धि कि व्याजदर ?

शेयर बजारमा गिरावट आउनुको कारण पुँजीवृद्धि कि व्याजदर ?

काठमाडौं, १३ चैत्र । एक महिना यता शेयर बजारको मापक नेप्से परिसुचक २०६.१८ अंकले घटेको छ । नेप्से परिसुचक अहिले बियरिस ट्रेण्डमा रहेको छ । यसरी शेयर बजारमा बियरिस ट्रेण्ड हावी हुँदा दैनिक रुपमा लगानीकर्ताहरुको सम्पति घट्दै गएको छ ।

शेयरहरुको आपुर्तिमा भएको वृद्धि र वित्तीय क्षेत्रमा रहेको तरलता अभावका कारण शेयर बजारमा गिरावट आएको विश्लेषक, नियामक निकाय र सरकारले बताउँदै आएको छ । यसरी शेयर बजारमा आएको गिरावटको कारण शेयर लगानीकर्ताहरुमा बजार प्रति निरासा छाएको छ । यता शेयर बजार ओरालो लाग्दा बैंकहरुले मार्जिन कलको चापलाई बढाएको छ । उता शेयर मुल्य घटेर ऋण तिर्न गाह्रो भएको लगानीकर्ताहरुले बताएका छन् । तर शेयर बजारको नियमक निकाय धितोपत्र बोर्डले भने लगानीकर्ताहरु आतिनुपर्ने अवस्था नभएको बताउँछ । शेयर बजार घट्ने र बढ्ने स्वभाविक भएको कारण लगानीकर्ताहरु नआतिन धितोपत्रले बोर्डले बताएको छ । यस्तै बोर्डले यो समयमा संयमित भएर लगानी गर्न लगानीकर्ताहरुलाई सुझाव दिएको छ ।

यस्तै अर्थमन्त्रीले एक कार्यक्रममा शेयर बजार बढ्न मात्र नभई घट्ने पनि गर्दछ भन्ने अभिव्यक्ति दिएका छन् । उनले दिएको सो अभिव्यक्तिका कारण शेयर बजारमा सोमबार सर्किट ब्रेक लागेको र बजार ४.२५ प्रतिशतले नेप्सेमा गिरावट आएको लगानीकर्ताहरुको संघ नेपाल इन्भेष्टर्स फोरमले बताएको छ । नयाँ सरकारको गठन पछि शेयर बजारमा सकारात्मक असर पर्ने अपेक्षा गरिएता पनि यसको विपरित बजारले प्रतिक्रिया दिएको छ । यसरी शेयर बजार दैनिक रुपमा घट्दै गएपछि इन्भेष्टर्स फोरमले १९ बुँदे मागपत्र घोषणा गरेको छ । सो मागहरु एक साता भित्र सम्बोधन नभए फोरमले आन्दोलनमा जाने समेत जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको र वीमा समितिले वीमा कम्पनीहरुको पुँजीवृद्धि सम्बन्धी नितीको कारण शेयर बजारमा उछाल आएको थियो । यसरी शेयर बजारमा उछाल आउँदा नेप्से परिसुचक हालसम्म कै उच्च १८८१ विन्दुसम्म पुगेको थियो । तर पुँजीवृद्धिको नितीलाई शेयर बजारले पछिल्लो समय सकारात्मक प्रतिक्रिया दिएको छैन । पुँजीवृद्धिका लागि नेप्सेमा सुचिकृत कम्पनीहरुले बोनस शेयर, हकप्रद शेयर र नयाँ थप शेयर निष्कासन गरेको थियो । सुरुवाति समयमा हकप्रद र नयाँ थप शेयर निष्कासनको लागि लगानीकर्ताहरुको उत्साह देखिए पनि पछिल्लो समय हकप्रद शेयरको लागि लगानीकर्ताहरुको उत्साह देखिएको छैन । सोहि कारण पनि कम्पनीहरुले जारी गरेको हकप्रद शेयरहरु पुनः लिलामीमा बिक्री गरेका छन् । यता कम्पनीहरुले घोषणा गरेको बोनस शेयर र हकप्रद शेयर जारीले शेयर मुल्य समायोजन भएर घटेको छ । यसका साथै शेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाउँदा शेयर मुल्यहरु थप घट्न गएको छ ।

यस्तै शेयर बजारमा नयाँ शेयरहरुको संख्यामा समेत वृद्धि आएको छ । मुलुकमा संचालनमा रहेका लघुवित्तहरुले साधारण शेयर निष्कासन गरेकाले समेत शेयरको आपुर्ति बढ्न गएको हो । साथै जलविद्युत आयोजनाहरुले समेत साधारण शेयर निष्कासन गरेकाले शेयर बजारमा शेयरको आपुर्ति ह्वात्तै बढ्न गएको छ । साधारण शेयर निष्कासन, बोनस शेयर, हकप्रद शेयर र थप नयाँ शेयर निष्कासनका कारण शेयरको आपुर्तिमा वृद्धि भएको हो । तर आपुर्तिको तुलनामा माग पक्ष कमजोर बन्दा नेप्से परिसुचकमा दवाब परेको हो । जसका कारण बजारमा शेयर बिक्रीको चाप बढेको छ ।

यता चुक्ता पुँजी वृद्धिका कारण बैंक तथा वित्तीय संस्थाहरुको पुँजी, निक्षेप कर्जा अनुपात सिसिडि रेसियोमा दवाब परेको छ । यसरी सिसिडि रेसियोमा दवाब परेको कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकमको अभाव परेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्न सकेको छैन भने कर्जा विस्तार गर्ने क्षमतामा ह्रास हुँदै गएको छ । यद्यपी बैंक तथा वित्तीय संस्थाहरुले मुनाफा आर्जन भने गरेका छन् । यसरी निक्षेप बढ्न नसकेपछि निक्षेप आकर्षण गर्न बैंक तथा वित्तीय संस्थाहरुले बचत र मुद्दतीमा आकर्षक ब्याज घोषणा गरेका छन् । निक्षेप आकर्षण गर्ने होडमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप खोसाखोस गर्ने स्थिती सृजना भएको छ । यता निक्षेपको ब्याजमा आएको वृद्धिका कारण कर्जाको व्याजदर समेत बढेको छ ।

पुँजीवृद्धि योजना र लगानी योग्य रकम अभावले शेयर बजारमा गिरावट आएपनि सरोकार निकायहरुले यसलाई सम्बोधन गर्न आवश्यक रहेको छ । यता शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरुको लगानी जोखिममा परेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x