१० वर्षमा वैदेशीक रोजगारीमा गएका ६ हजार ६ सय ४० ले ज्यान गुमाए

मानमती पाण्डेय
काठमाडौं, ३ असार । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो १० बर्षको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा गएका ६ हजार भन्दा बढिले ज्यान गुमाएका छन् । बोर्डका अनुसार १० वर्षमा ६ हजार ६ सय ४० जनाले ज्यान गुमाएका हुन ।

यसरी अकालमा ज्यान गुमाउने मध्ये पनि सरकारबाट श्रम स्विकृत लिई विदेश गएका कमदारको मात्र सरकारले क्षतिपुर्ति दिने गरेको छ । अवैधानीक रुपमा वैदेशिक रोगारीमा गइ ज्यान गुमाउनेहरुलाई सरकारले क्षतिपुर्ति दिने गरेको छैन । न त उनीहरुको कुनै तथ्याङ्क नै भेटिन्छ ।हाल नेपालबाट वैदेशिक रोजगारीका लागि १ सय १० देशमा जान सरकारले खुला गरे पनि धेरै जसो नेपालीहरु साउदी अरब, मलेसिया,कतार, जस्ता खाडी मुलुक जाने गरेका छन् । मौसमका हिसाबले पनि नेपाल भन्दा धेरै गर्मीहुने त्यस्ता ठाउँहरुमा वातावरणसँग घुलमिल हुन नसक्दा, खानपिनमा कमी हँुदा र कामको चाप बढि हुदाँ धेरैले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी सुचना अधिकारी पवित्रा घिमिरे खनालले बताइन् । उनले भनिन ‘धैरै जसो कामदारहरुको सडक दुर्घटना, आत्महत्या, हृदयघात, कार्यस्थलमा हुने दुर्घटना तथा अन्य प्राकृतिक कारणले पनि मृत्यु हुने गरेको छ । ’

वैदेशिक रोजगारमा २०६५ देखी २०७५ सम्म्म ज्यान गुमाउनेहरुको तथ्याङ्क

वैदेशिक रोजगार विभागका अनुसार २०७० देखी २०७३ सम्म आउँदा अर्थात ३ बर्षको अवधीमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो देखिए पनि वैदेशिक रोजगारीमा मृत्यु हुनेहरुको संख्या बढ्दो छ । आर्थिक बर्ष २०६५÷६६मा ७४ पुरुष ३ महिला गरी ७७ जनाले ज्यान गएको थियो । त्यस्तै २०६६÷६७मा ४ सय पुरुष र १९ महिला गरि ४ सय १९ जना, २०६७÷६८मा ५ सय ५८ पुरुष र ८ महिला गरी ५ सय ६६ जना, २०६८÷६९मा ६ सय ३४ पुरुष १४ महिला गरी ६ सय ४८ जना, २०६९÷७० मा ७ सय ११ पुरुष ११ महिला गरी ७ सय २२ जनाले ज्यान गुमाए । २०७०÷७१ मा ८ सय ५३ पुरुष २४ महिला गरी ८ सय ७७ जनाले ज्यान गुमाएका छन् । यसैगरि २०७१÷७२ मा १ हजार पुरुष ६ महिला गरी जम्मा १ हजार ६ जना ले ज्यान गुमाएका छन् । यो १० बर्षको अवधीकै उच्च मृत्यदर हो । त्यस्तै २०७२÷७३मा ७ सय ९१ पुरुष र २४ महिला गरी ८ सय १५ जना, २०७३÷७४मा ७ सय ३८ पुरुष १८ महिला गरी ७ सय ५६ जना, २०७४÷७५ मा ७ सय १० पुरुष र १६ महिला गरी जम्मा ७ सय २६ जना र आर्थिक वर्ष २०७४÷७५ को जेठ महिना सम्ममा ७ सय ३७ पुरुष र १७ महिला गरि जम्मा ७ सय ५४ जनाले ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।

जसमा आर्थिक बर्ष २०६५÷६६ मा ७७ जनाले नेपाल सरकारबाट ७६ लाख ९ हजार ९ सय रुपैयाँ राहत पाएका छन् । आर्थिक बर्ष २०६६÷६७ मा ४ सय १९ जनाले तीन करोड ८९ लाख ७७ हजार रुपैयाँ, आर्थिक बर्ष २०६७÷६८ मा ५ सय ६६ जनाले ४ करोड ९५ लाख ४३ हजार रुपैयाँ, आर्थिक बर्ष २०६८÷६९ मा ६सय ४८ जनाले ७ करोड ७२ लाख ५ करोड रुपैयाँ र आर्थिक बर्ष २०६९÷७० मा ७ सय २२ जनाले ९ करोड ७९ लाख ३० हजार रुपैयाँ राहत रकम पाएका छन् । यसैगरि, आर्थिक बर्ष २०७०÷७१मा ८ सय ७७ जनाले १२ करोड ६१ लाख रुपैयाँ, आर्थिक बर्ष २०७१÷७२ मा १ हजार ६ जनाले २१ करोड ७४ लाख ४० हजार रुपैयाँ, आर्थिक बर्ष २०७२÷७३ मा ८ सय १५ जनाले २२ करोड १३ लाख ५० हजार रुपैयाँ, आर्थिक बर्ष २०७३÷७४ मा ७ सय ५६ जनाले जम्मा २२ करोड ६३ लाख रुपैयाँ, आर्थिक बर्ष २०७४÷७५ मा ७ सय ५४ जनाले ४१ करोड १६ लाख ७० हजार रुपैयाँ राहत रकम परिवारलाई हस्तान्तरण गरिएको छ । १० बर्षको अवधिमा जम्मा ६जार ६ सय ४० जनाले १ अर्ब ४६ करोड ८७ लाख २४ हजार रुपैयाँ राहत रकम पाएका छन् ।

बैदेशिक रोजगार पवद्धन बोर्डको तथ्याङ्क अनुसार सबै भन्दा बढि मलेशिया, साउदी अरेविया, कतार, संयुक्त अरब एमिरेट्स र कुवेत जस्ता खाडी मुलुकमा बढि मात्रामा नेपालीहरुको ज्यान जाने गरेको छ । मलेशियामा १० बर्ष यता २ हजार ३ सय ८९ पुरुष र ३१ महिला गरी जम्मा २४ सय २० जनाको ज्यान गएको छ भने साउदी अरेवियामा १८ सय २२ पुरुष र ३ महिला गरी १हजार ८ सय २५ जना , कतारमा १३ सय ७ पुरुष र ९ महिला गरी १ हजार ३ सय १६, संयुक्त अरब एमिरेट्समा ४ सय ७४ पुरुष र ३६ महिला गरी जम्मा ५ सय १० जना र कुवेतमा १ सय ६६ पुरुष र ४० महिला गरी २ सय ६ जनाको काम गर्ने शिलशिलामा ज्यान गएको छ । बैदेशिक रोजगारीमा जाने मध्ये ९० प्रतिशत नेपाली यिनै खाडी मुलुकबाट मर्ने गरेको तथ्याङ्कले देखाउँछ ।

वैदेशीक रोजगार ऐन २०६४ 

नेपाल सरकार तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्दै सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हक हितको संरक्षण गर्नको लागि वैदेशिक रोजगार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वैदेशीक रोजगार ऐन २०६४ जारी गरेको हो । जसमा निम्न अनुसारको व्यवस्था गरिएको छ ।

– वैदेशिक रोजगारमा जाने कामदारले श्रम स्वीकृती लिँदा ३ वर्ष सम्मको करार अवधिका लागि १ हजार ५ सय रुपैयाँ र तीन वर्षभन्दा बढीको करार अवधिका लागि २ हजार ५ सय रुपैयाँ कल्याणकारी कोषमा जम्मा गर्नुपर्नेछ ।

–श्रम स्विकृती लिई बैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधि भित्रै तथा करार अवधि समाप्त भएको १ बर्ष सम्मको अवधिभित्र कुनै कारणले मृत्यु भएमा कामदारको मृत्युभएको प्रमाणित भई नेपालमा शव बुझेको १ बर्ष भित्र आर्थिक सहायताको लागि वोर्डमा निवेदन दिनु पर्नेछ ।

– बुँदा नम्वर २ मा उल्लेख भए अनुसारको अवस्थामा कामदारको मृत्यु भएको अवस्थामा आर्थिक सहायताका लागि पेश गरेको निवेदन र संलग्न प्रमाणहरु पुगेको खण्डमा मृतक कामदारको हकवालाले ७ लाख रुपैया आर्थिक सहायता पाउनेछन ।

– श्रम स्विकृती लिई बैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधि भित्रै तथा करार अवधि समाप्त भएको १ बर्ष सम्मको अवधिभित्र कुनै कारणले अङ्गभङ्ग भएमा वा कामदार गम्भीर बिरामी भएमा त्यस्तो कामदारले आर्थिक सहायताको लागि स्वदेश फर्केको १ बर्ष भित्र करारको प्रतिलिपि र अङ्गभङ्ग वा गम्भीर बिरामी भएको प्रमाणित गर्ने अस्पतालको प्रेस्किपशन सहित वोर्डमा निवेदन दिनु पर्नेछ ।

–बुँदा नम्वर ४ मा उल्लेख भए अनुसार अङ्गभङ्ग भएको वा गम्भीर बिरामी भएको कामदारलाई कामदारले पेश गरेको प्रमाणको आधारमा अङ्गभङ्ग वा गम्भीर बिरामीको प्रकृती र मात्रा हेरी विशेषज्ञ समितिले बढिमा ७ लाख रुपैयाँसम्म आर्थिक सहायता दिनका लागि बोर्डलाई सिफारीस गर्नेछ । बुँदा नम्वर ५ अनुसार विशेषज्ञ समितिबाट आर्थिक सहायताका लागि सिफारीस भई आएको निवेदनको हकमा वोर्डले ७ दिन भित्र सिफारीस अनुसारको आर्थिक सहायता कामदारलाई उपलब्ध गराउने छ ।

– बैदेशिक रोजगारमा गएको कुनै कामदारको कुनै कारणले मृत्यु भएमा वा अङ्गभङ्ग वा गम्भीर बिरामी भएमा त्यस्तो मृतकको हकवाला वा अङ्गभङ्ग वा गम्भीर बिरामी परेको कामदारले आर्थिक सहायताको लागि बोर्डमा निवेदन दिएको तर कारणवस यस नियम वमोजिमको आर्थिक सहायता नपाउने भएमा वोर्डले त्यस्तो हकवाला वा कामदारलाई कोषवाट एकमुष्ठ १० हजार रुपैयाँ आर्थिक सहायता दिन सक्नेछ ।

– श्रम स्वीकृति लिई बैदेशिक रोजगारमा गएको कामदारको शव नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट निजको घर ठेगानासम्म लैजान बोर्डले सहयोग गर्ने व्यवस्था छ ।

कामदारमा ज्ञान र दक्षताको अभाव

बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुलाई त्यहाँको वातावरण अनुकुल नहुदा, काम र आरामको तलमेल नमिल्दा ज्यान गुमाउनु परेको वैदेशिक रोजगार प्रवद्धन बोर्डकी सुचना अधिकारी पवित्रा घिमिरे खनालले बताइन् । जसमध्ये धेरै जसो प्राकृतिक कारणले मर्नेहरु बढि देखिने बताइन । जेब्रा क्रसिङ्ग गर्न नजान्दा, कार्य स्थलको दुर्घटना, ह्दयघात र प्राकृतिक कारण जस्तै उच्च तापक्रम भएका खाडी मुलुकमा साझँ सुत्दा फुल एसीमा सुतेको मानिस बिहान मृत फेला पर्ने गरेको बताइन् ।

प्राय अशिक्षित युवाशक्ती यस्ता खाडी मुलुकमा जाने गरेको र उचित ज्ञान र सुचनाको अभावमा उनीहरुले ज्यान गुमाउने गरेका छन् । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बैदेशिक रोजगारमा जाने कामदारलाई तालिम दिन १ सय १६ संस्थालाई मान्ता दिएको भए पनि उनीहरुले उचित तालीम नदिइ प्रमाणपत्र मात्र दिने गरेकाले पनि यस्तो समस्या आएको बोर्डकी सुचना अधिकारी खनालले बताइन । उचित अभिमुखीकरण, तालीमको अभावमा बैदेशिक रोजगारी सम्बन्धी उचित सुचना नपाउदा धेरै जसो अङ्गभङ्ग भएका र कतिले ज्यान गुमाउने गरेका छन् ।

उनले अभिमुखीकरण तालिम दिने व्यवस्था गरी संस्थालाई जिम्मेवारी दिएर अनुगमनमा कडाइ नगर्दा यो समस्या बढ्दै गएको बताइन् । यसका लागि सरकार, सम्बन्धित निकाय र बैदेशिक रोजगारमा जाने व्यक्ति स्वयंमले ध्यान पु्याउनु पर्ने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *