Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

औपचारिकतामै सीमित शहीद दिवस

औपचारिकतामै सीमित शहीद दिवस

काठमाडौँ, माघ १६ ।
शहीद दिवस हरेक वर्ष मनाइए पनि यो औपचारिकतामै सीमित छ । मुलुकमा गणतन्त्र आए पनि शहीदको योगदानको कदर हुन नसकेको धारणा शहीद परिवार, राजनीतिज्ञ, लेखक, विश्लेषक र विद्धानको छ ।
वरिष्ठ राजनीतिज्ञ तथा लेखक पुरुषोत्तम बस्नेतले मुलुकमा लोकतन्त्र आए पनि राज्यले शहीदको योगदानको कदर गर्न नसकेको जिकिर गर्नुभयो । अहिलेसम्मको शहीद दिवस औपचारिकतामा मात्र सीमित रहेको बताउँदै उहाँले शहीद दिवस नगरपालिका स्तरबाट नभई राज्यको केन्द्रीय स्तरबाट मुलुकभरि मनाउनुपर्ने सुझाव दिनुभयो ।
तत्कालीन राजा महेन्द्रद्वारा २०१२ सालमा काठमाडौँ नगरलाई शहीद दिवस मनाउने आदेश भएदेखि काठमाडौँ नगरपालिकाले शहीद दिवस मनाउँदै आएको छ । आज पनि शहीद दिवस मनाउने जिम्मेवारी राज्यको केन्द्रीय स्तरमा नभई काठमाडौँ महानगरपालिकालाई नै रहेको छ ।
उहाँले मुुलुकमा गणतन्त्र आएसँगै शहीदको सपनाको राजनीतिक अध्याय केही हदसम्म पूरा भएको छ तर गणतन्त्र संस्थागत नभएसम्म ढुक्क हुने अवस्था छैन । गणतन्त्र माथिको चुनौती अझै कायमै छ । मुलुकमा राजनीतिक उपलब्धि भए पनि शहीदले कल्पना गरेको समाज अझैँ निर्माण हुन सकेको छैन । आमनागरिक शोषण उत्पीडनमै छन् । समाजमा असमानताको खाडल दिनदिनै बढ्दैगएको अवस्था छ भन्नुभयो । कबजष्म
राज्यद्वारा चार जना बाहेकका शहीदको अवमूल्यन र न्यूनीकरण भएको बताउँदै उहाँले शहीद गेटमा शहीदको टाउकोमाथि राजा त्रिभुवनको सालिक राखेर राज्यले ती चार शहीदको पनि घोर अपमान गरेको धारणा व्यक्त गर्नुभयो । शहीद गेटमा राखिएको त्रिभूवनको सालिकले आज पनि मुलुकमा आम जनताभन्दा राजा माथि रहेछन् भन्ने सन्देश गएको उहाँको धारणा छ । राजनीतिज्ञ प्रदीप नेपालले शहीदको राजनीतिक सपना केही हदसम्म साकार भए पनि उनीहरूले खोजेजस्तो मुलुकमा सामाजिक–आर्थिक परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले शहीदको सपना भनेको प्रणाली परिवर्तन मात्र होइन, सामाजिक–आर्थिक परिवर्तन पनि हो भन्नुभयो । उहाँले हिजो आज मुुलुकमा रङ्गीविरङ्गी शहीद भएको बताउनुभयो ।
मुलुकमा शहीदको परिभाषा नै गोलमाल हुने खतरा बढ्दैगएको बताउँदै उहाँले राजनीतिक उद्देश्यसहित देश र जनताको हित र अधिकारका लागि प्राण त्याग गर्ने व्यक्ति मात्र शहीदको परिभाषाभित्र पर्न सक्ने बताउनुभयो । नागरिक स्वतन्त्रताका लागि जीवन अर्पण गर्नेहरू सबैलाई शहीद घोषणा गर्नुपर्ने उहाँको धारणा छ ।
शहीद धर्मभक्त माथेमाका भतिजा माधवभक्त माथेमाले शहीदको योगदानको कदर नभएको बताउनुभयो । उहाँले मुलुकमा शहीदको आकाङ्क्षा पूरा हुन सकेको छैन, शहीदकै बलिदानी र योगदानको जगमा टेकेर मुलुकमा लोकतन्त्र र गणतन्त्र त आयो तर जनताले बुझ्न नसकेको लोकतन्त्र आयो भन्नुभयो ।
शहीद कुनै घर परिवारको नभई सबै नेपालीको भएको बताउँदै उहाँले अन्य शहीदजस्तै धर्मभक्त माथेमाको नामलाई स्थापित गर्न नागरिक तहबाट नै प्रयास हुनुुपर्ने धारणा व्यक्त गर्नुभयो । वरिष्ठ पत्रकार राजेश्वर नेपालीले राज्यद्वारा अहिलेसम्म शहीद घोषणामा समेत विभेद गरिएको बताउँदै राज्यले दुर्गानन्द झालाई शहीद घोषणा गरे पनि सम्मान नपाएको बताउनुभयो । शहीद गेटमा राजा त्रिभुवनको सालिक राखेर राज्यले वास्तविक शहीदको अपमान गरेको बताउँदै यसबाट सम्पूर्ण नेपालीको अपमान भएको धारणा व्यक्त गर्नुभयो । २००७ सालदेखि अहिलेसम्म दुर्गानन्द झा लगायत मधेस आन्दोलनका शहीदको मूल्याङ्कन राज्यले गर्न नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
मुलुकमा लोकतन्त्र र अधिकारका लागि आम नागरिकलाई सजग र सचेत बनाएको अभियोगमा १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकूस्थित खरीको रूखमा, माघ ११ गते धर्मभक्त माथेमालाई सिफलस्थित रूखमा झुन्ड्याएर मारिएको थियो । त्यसैगरी दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीस्थित विष्णुमतीको किनारमा गोली ठोकेर मारिएको थियो । गोरखापत्र बाट

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x