Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषि उत्पादन तथा पोषणको सुधारका लागि अमेरिकी सरकारको नयाँ रणनीति

कृषि उत्पादन तथा पोषणको सुधारका लागि अमेरिकी सरकारको नयाँ रणनीति

पूर्ण प्रसाद चौलागाई २०७४ मंसिर २ काठमाडौं । नेपालको कृषि विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग साझेदारी गर्दै यहाँको कृषि उत्पादन तथा पोषणको स्थितिमा सुधार ल्याउने उद्देश्यका साथ अमेरिकी सरकारले विश्‍व खाद्य सुरक्षासम्बन्धी पञ्‍चवर्षीय रणनीति (ग्लोबल फुड सेक्‍युरिटी स्ट्राटेजी) सार्वजनिक गरेको छ । अमेरिकी सरकारको चालु फिड त फ्‍युचर कार्यक्रमको थप हिस्साको रूपमा रहेको उक्त रणनीतिले नेपाल सरकारको कृषि विकास रणनीति तथा बहुक्षेत्रीय पोषण योजनालाई सघाउनेछ । यस रणनीतिको कार्यान्वयनका लागि अमेरिकी सरकारले विश्‍वभर छनोट गरेका १२ मात्र देशमध्ये नेपाल पनि एक हो ।

विगत पाँच वर्षमा अमेरिकी सरकारको फिड त फ्‍युचर कार्यक्रमले नेपालमा कृषि उत्पादन तथा पोषणको स्थितिमा सुधार गर्दै झन्डै १० लाख नेपालीको आय वृद्धिमा सहयोग गरेको छ । सो अमेरिकी कार्यक्रम सञ्‍चालन गरिएका दक्षिण पश्‍चिम तथा मध्य क्षेत्रका २४ जिल्लामा सन् २०१३ देखि २०१५ बीच गरिबीमा ३६ प्रतिशत ह्रास आएको छ, सन् २००६ मा ४९ प्रतिशत रहेको पुड्कोपन २०१६ मा ३६ प्रतिशतमा झरेको छ र कृषकको औसत विक्री प्रति वर्ष २५० अमेरिकी डलरबाट वृद्धि भई अन्दाजी ७०० डलर पुगेको छ ।

“उत्पादकलाई बजारसँग अझै राम्ररी जोड्नका लागि कृषिको भ्यालु चेनभरि नै लगानी गर्नुपर्छ भन्ने कुरामाथि यस नयाँ रणनीतिले जोड दिएको छ,” कार्यवाहक अमेरिकी राजदूत माइकल गोन्जालेसले भन्नुभयो । “यसले गर्दा सुरक्षित तथा गुणस्तरीय खाद्यान्नमाथिको पहुँचमा सुधार हुनेछ र खास गरी युवाका लागि आयआर्जन र रोजगारका अवसरहरू सिर्जना हुनेछन् ।”

पोषणको अवस्थामा सुधार गर्दै नेपालको कृषि क्षेत्रमा वृद्धि र रोजगारलाई गति दिनका लागि आगामी पाँच वर्षभर यस रणनीतिले सरकार, दातृ निकाय, व्यवसाय र नागरिक समाजसँग नयाँ साझेदारी विकास गर्दै तिनीहरूसँगको सहकार्यलाई मजबुत बनाउनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x