Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पहिलो त्रैमासबाट शोधनान्तर स्थितिमा सुधार, मूल्यवृद्धि घट्यो

पहिलो त्रैमासबाट शोधनान्तर स्थितिमा सुधार, मूल्यवृद्धि घट्यो

पूर्ण प्रसाद चौलागाई २०७४ मंसिर ४ काठमाडौं । चालु आर्थिक वर्षको सुरुदेखि नै ऋणात्मक रहेको शोधनान्तर स्थितिमा तेश्रो महिनादेखि सुधार आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तेश्रो महिनाको बृहद् आर्थिक परिदृश्य अनुसार, पहिलो तीन महिनामा शोधनान्तर बचत ४ अर्ब २७ करोड रुपैयाँ रहेको छ । जबकी गत वर्ष भुक्तानी सन्तुलन १९ अर्ब ७० करोड रुपैयाँ बचत रहेको थियो ।

प्रत्यक्ष वैदेशिक लगानी र क्यापिटल ट्रान्सफरसँगै भुक्तानी सन्तुलनको स्थितिमा सुधार आएको हो । समीक्षा अवधिमा झण्डै पाँच अर्ब रुपैयाँ क्यापिटल ट्रान्सफर र ६ अर्ब ७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गत वर्ष सोही अवधिमा २ अर्ब ४१ करोड क्यापिटल ट्रान्सफर भई ५ अर्ब २ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको थियो ।

यद्यपि उच्च व्यापार घाटाका कारण चालु खाता भने घाटामा छ । चालु खाता घाटा २१ अर्ब ९४ करोड रुपैयाँ छ । गत वर्ष सोही अवधिमा १ अर्ब ९७ करोड रुपैयाँ चालु खाता घाटा रहेको थियो । समीक्षा अवधिमा व्यापार घाटा २ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो व्यापार घाटा दुई खर्ब एक अर्ब रुपैयाँ थियो । समीक्षा अवधिमा कुल दुई खर्ब ५७ अर्ब रुपैयाँको आयात भई २० अर्ब ४३ करोड रुपैयाँ निर्यात भएको छ ।

उपभोक्ता मूल्यवृद्धि भने गत महिना ३.४ प्रतिशत रहेकोमा तेश्रो महिनामा ३.१ प्रतिशत रहेको छ । आपूर्तिमा सुधार तथा भारतमा मूल्यवृद्धिमा कमीसँगै उपभोक्ता मूल्यवृद्धिमा कमी आएको हो । गत वर्ष सोही अवधिमा भने उपभोक्ता मुद्रास्फिति ६.७ प्रतिशत रहेको थियो । पहिलो त्रैमासमा विप्रेषण आप्रवाहमा सुधार भएको छ । समीक्षा अवधिमा एक खर्ब ७६ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ । विप्रेषणको वृद्धिदरमा भने गत वर्षको तुलनामा कमी आएको छ । गत वर्ष पहिलो त्रैमासमा विप्रेषणको वृद्धिदर ३.२ प्रतिशत रहेकोमा यस्तो वृद्धिदर २.६ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x