Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

प्रमुख भन्सारका भारतीय सीमावर्ती रेल गन्तव्यसम्म रेलबाटै नेपालको कार्गो ढुवानी

प्रमुख भन्सारका भारतीय सीमावर्ती रेल गन्तव्यसम्म रेलबाटै नेपालको कार्गो ढुवानी

काठमाडौं, १२ वैशाख । भारतीय सामुद्रीक बन्दरगाहदेखि नेपालका प्रमुख भन्सारनाका नजिकका भारतीय सीमावर्ती रेल गन्तव्यसम्म रेलबाटै नेपालको कार्गो ढुवानी गर्न सकिने भएको छ । यसको सुरुवातका लागि परिक्षण चरणमा आजदेखि कलकत्ता बन्दरगाहदेखि विराटनगरसम्मका लागि रेल छुटेको छ । सडकबाट कार्गो ढुवानी रेलभन्दा धेरै महँगो पर्ने भएपनि वीरगन्जबाहेक अन्य बन्दरगाह रेलसँग नजोडिएका कारण सडकमार्गबाटै ट्रक, लरीहरुमा कलकत्तादेखि कन्टेनर ढुवानी हुँदै आएको थियो ।
नेपालले नेपाल आउने कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम लागू गरेको र सोबाट नेपाल आउने कार्गोको अनुगमन गर्न सकिने भएकाले भारतले नेपालका प्रमुख भन्सारका सीमावर्ती रेल गन्तव्य (रेल हेड) हरुसम्म रेलबाटै नेपालको कार्गो ढुवानी गर्न दिने भएको हो । नेपाल नजिकका रेलका गन्तव्यहरुबाट नेपाली बन्दरगाहसम्म सडकबाटै सामान ओसारिनेछ । वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजूका अनुसार, इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम लागू भएपछि परिक्षणका लागि ९० दिनसम्म कलकत्ताबाट जोगवनीसम्म रेलले सामान ल्याउने र त्यहाँबाट विराटनगर भन्सार हुँदै नेपाल भित्र्याइने बताए । यसले सडकबाट ल्याउनुभन्दा कार्गो ढुवानीको खर्च घटाउनेछ । ९० दिनको परिक्षण ढुवानीपछि अध्ययन प्रतिवेदन तयार गरी यसका सुझावहरु समेत समावेश गरी नेपाल भारत पारवहन सन्धि नवीकरण गरिने सैंजूले बताए । नेपाल भारत पारवहन सन्धि नवीकरणको मुद्दाभने भोलिदेखि सुरु हुने नेपाल भारत वाणिज्य सचिव स्तरीय बैठकमा पेश गरिनेछ । यो प्रणाली नियमित लागू गर्न पारवहन सन्धिमा नवीकरण गर्नुपर्ने हुन्छ जसबाट जोगवनीसहित भैरहवा नजिकको रेल गन्तव्य नौतनवा र नेपालगन्ज नजिकको रेल गन्तव्य रुपैडियासम्म रेलमा सामान ढुवानी गर्न सकिन्छ । भारतसँग ट्रान्ससीपमेन्ट सम्झौता भएपछि भारतीय बन्दरगाह भन्सारमा दस्तावेज तथा भन्सार घोषणा नगरी सीधै नेपाली बन्दरगाहसम्म कार्गो आइपुग्छ । रेलबाट कार्गो ढुवानी भई कार्गो ढुवानीको लागत कम भएपछि यसले नेपालमा औद्योगिकरणको समेत मार्गप्रशस्त गर्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x