Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बजेटको लक्ष्य हासिल हुन्छ : गभर्नर नेपाल

बजेटको लक्ष्य हासिल हुन्छ : गभर्नर नेपाल

काठमाडौं, ३० जेठ । आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित ८ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि कायम राख्न सहयोग पुग्ने गरी मौद्रिक नीति आउने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । आइबीएन मिडिया एण्ड रिसर्चले आयोजना गरेको ‘मौद्रिक नीति २०७५÷७६’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर नेपालले विगत दुई आर्थिक वर्षमा नेपालले ६ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि गरेको बताउदै नेपालको कुल ग्राहस्थ उत्पादन पनि ३ हजार अर्ब हाराहारी पुगेको बताए ।
तीन वर्ष अगाडि बैंकको चुक्ता पुजी ४ गुणाले वृद्धि गर्नुपर्ने नीति ल्याउदा धेरैले विरोध गरेको भए पनि समयक्रमले यो चाहिने नै हो भन्ने पुष्टि भएको गभर्नरले बताए । नेपालले राजनीतिक अस्थिरता, घण्टौको लोडसेडिङको बाबजुद पनि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको हुदा हालको समयमा स्थिर सरकार र लोडसेडिङ पनि करिब करिब अन्त्य भइसकेको हुनाले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न गा¥हो नहुने ठोकुवा गरे ।
विगतमा केन्द्रिकृत स्तरको मात्रै बजेट आउने गरेकोमा हाल संघीय बजेट, प्रान्तीय र स्थानीय बजेटसँगै त्यही अनुसारको आर्थिक क्रियाकलाप समेत बढ्ने हुँदा आर्थिक वृद्धि हासिल नहुने कुरामा शंका नगर्न उनले सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल डेभलपमेन्ट बैकर्स संघका कार्यबाहक अध्यक्ष गोविन्द ढकालले बैंकहरुको पुजी वृद्धि भए पनि अन्य स्रोत साधनलाई ध्यान नदिई अन्धाधुन्ध कर्जा परिचालन गरेकाले भविष्यमा केही समस्या आउन सक्ने आंकलन गरे । विकास बैंकको महत्व काठमाडौं उपत्यकामा भन्दा पनि स्थानीय स्तरमा बढी रहेको बताउदै उनले विकास बैंकले स–साना ऋणहरु प्रदान गर्ने हुँदा स्थानीय स्तरको सरकारी खाता विकास बैंकलाई पनि सञ्चालन दिइनुपर्नेमा जोड दिए । राष्ट्र बैंकले कृषिमा अनिवार्य ऋण लगानी गर्नुपर्ने प्रावधान ल्याए पनि सोही अनुसार केही छुटको व्यवस्था आगामी मौद्रिक नीतिमा भए आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्न सजिलो हुने उनले बताए । पुँजी वृद्धिको माध्यम हकप्रद शेयरलाई बनाएका कारण अहिले व्याज दर अस्थिरताको समस्या आएको बताउँदै उनले ठूला बैंकहरु अझै मर्जरमा गएर १२ देखि १५ सम्म मात्र पुग्नुपर्ने बताए ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले हालै आएको बजेटलाई हेरेर राष्ट्र बैंकले विस्तारकारी मौद्रिक नीति ल्याउनुुको विकल्प नभएको जिकिर गरे । आगामी बजेटमा ३ हजार अर्बको जिडीपीमा ९८३ अर्बको राजस्व राखिएको छ जुन झन्डै २९ प्रतिशत हुन आउँछ । करको दरहरुमा भएको फेरबदल, अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको वृद्धिले मूल्यवृद्धिमा चाप पर्न जाने हुँदा मूल्य वृद्धि ६.५ मा राख्ने चुनौती एवम् कूल अर्थतन्त्रको ४० प्रतिशत भनिएको अनौपचारिक अर्थतन्त्रलाई कसरी मूल धारको अर्थतन्त्रमा ल्याउने भन्ने लगायतका कुराहरु आगामी मौद्रिक नीतिमा समेटिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सानिका बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैकिङ क्षेत्रका वर्तमान अवस्था समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा मुलभूत रुपमा बासेल ३ को मापदण्ड अनुसार नेपाली बैंकहरु चल्नुपर्ने सुझाव पेश गरिएको छ । सीआरआर, एसएलआरलगायतका व्यवस्थाहरु हाम्रो बैकिङ प्रणालीमा रहेको हुँदा सीडी रेसियो हटाउदा कुनै फरक नपर्ने सुझाव दाहालले आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका छन । वर्तमान तरलता अभावको समस्या विदेशबाट ऋण भित्र्याएर गर्न सकिने अवस्था रहेको र त्यसमा राष्ट्र बैंकले विभिन्न मोडालिटीमा काम गरिरहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x