Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

भन्सार नीतिमार्फत् औद्योगिकरण प्रवद्र्धन गर्न सुझाव

भन्सार नीतिमार्फत् औद्योगिकरण प्रवद्र्धन गर्न सुझाव

काठमाडौं, माघ १२ । भन्सार नीतिमार्फत् औद्योगिकीकरण प्रवद्र्धन गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । ६६औं भन्सार दिवसका अवसरमा भन्सार विभागले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै निजी क्षेत्रका अगुवाहरुले औद्योगिक विकासका लागि मूल्य अभिवृद्धिको हेतुले पैठारी हुने वस्तु र औद्योगिक कच्चा वस्तुमा भन्सार महशुल कम गर्दै लैजान सुझाएका हुन् । कच्चा वस्तु आयात गरेर देशमा उद्योग सञ्चालन गरी रोजगारी सिर्जनाको वातावरण बनाउन उनीहरुले आग्रह गरेका हुन् ।
देशमा औद्योगिक उत्पादनको आधार कमजोर हुँदा रोजगारी सिर्जनामा प्रत्यक्ष असर परेको छ । खुला बजार अर्थनीति अबलम्बन गर्दा औद्योगिक क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान १५ प्रतिशत रहेको थियो भने अहिले यो ५ प्रतिशतभन्दा कम छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिकरण बिना देशमा रोजगारी सिर्जना, समावेशी तथा दीगो आर्थिक वृद्धिदर हासिल गर्न नसकिने भन्दै औद्योगिक विकासका लागि नियामकीय सुधार, प्रशासनयन्त्रको सुधार तथा पूर्वाधार विकास आवश्यक रहेकोमा जोड दिए । नेपालमा औद्योगिक विकासका लागि एउटा हदसम्मको संरक्षण उद्योगहरुलाई आवश्यक रहेको भन्दै उनले सस्तो आयातले औद्योगिक आधारलाई तहसनहस पार्ने बताए । उद्योग स्थापना हुँदा यसले अर्थतन्त्रलाई बहुआयमिक लाभ हासिल हुने भन्दै उनले रोजगारी सिर्जना, कच्चा पदार्थको उपभोग, राष्ट्रिय स्रोतसाधनको परिचालन औद्योगिक विकासबाट मात्र सम्भव रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा न्यून बिजकीकरण तथा गलत बिजकको घोषणाले अर्थतन्त्रमा लेभल प्लेइङ फिल्ड कमजोर भएको र बजारमा मनोमानी मूल्य कायम भएको बताए ।

औद्योगिक क्षेत्र कमजोर हुँदा नेपाल क्रमशः व्यापार अर्थतन्त्रतर्फ रुपान्तरित भएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाई छ । उनले भन्सारलाई विद्यमान ६ अंकको भन्सारको हार्मोनाइज्ड सिस्टम (एचएस) कोडलाई भारतमा जस्तै आठ अंकमा सामञ्जस्य गर्न तथा भन्सारमा सन्दर्भ पुस्तकको सट्टा विश्वव्यापी प्रचलनमा रहेका विधिहरु अबलम्बन गरी वैज्ञानिक मूल्यांकन प्रणाली कायम गर्न सुझाव दिए ।

भन्सार विभागले भन्सारमा अटोमेशन तथा प्रकृयागत विषयहरुलाई कम गरी अन्तर्राष्ट्रिय व्यापारको लागत कम गर्ने अभिप्रायले अघि बढीरहेको उल्लेख गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x