Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लगन छैन तर सुनको मुल्य बढ्यो, अझै बढ्ने सम्भावना

लगन छैन तर सुनको मुल्य बढ्यो, अझै बढ्ने सम्भावना

शमुयल राना मगर, ३ माघ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर हुँदै गएपछि सुन तर्फ लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ । सोहि कारणले सुनको मुल्यमा वृद्धि आएको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर बन्दै गएको छ, डलर कमजोर भएको कारण सुन तर्फ लगानीकर्ताहरुको आकर्षण बढेको छ,’ नेपाल सुनचाँदी व्यवसायी महांसघका पुर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘युरो मजबुत बन्दै गएकोले अमेरिकी डलरको भाउ घटेको छ,’ उनले भने । यता अमेरिकी डलर कमजोर बन्दा सुन तर्फ लगानीकर्ताहरुको आकर्षण बढ्ने हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा हुने उतारचढापले स्थानिय बजारमा समेत यसको असर पर्ने गरेको छ ।

स्थानिय बजारमा आज बुधबार छापावाला सुन प्रति तोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार पनि सोहि रकममा सुनको कारोबार भएको थियो । मंसिर महिनामा सुनको मुल्यमा गिरावट आएको थियो । मंसिर महिनामा सुन प्रति तोला अधिकत्तम ५६ हजार चार सय रुपैयाँ कायम भएको थियो । तर सुनको मुल्य मंसिर महिनाको अन्तिमसम्ममा आईपुग्दा ५४ हजार तिन सय रुपैयाँ पुगेको थियो । त्यसपछि पौष महिनामा भने सुनको मुल्यमा वृद्धि हुँदै गएर प्रति तोला ५७ हजार रुपैयाँसम्म कारोबार भएको थियो । ‘मंसिर महिनामा विवाहको लगन भएता पनि सुनको मुल्यमा कमी आएको थियो,’ शाक्यले बताए, ‘यो माघ महिनामा विवाहको लगन माघ २४ गतेमात्र छ तर पनि सुनको मुल्य बढेको छ ।’

यसरी माघ महिनामा विवाहको लगन नहुँदा सुनको मागमा कमी आएको छ । ‘लगन धेरै नभएपछि माग पनि कम नै छ,’ शाक्यले भने । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष स्थानिय बजारमा सुनको मागमा कमी आएको छ । शाक्यले आगामी दिनमा सुनको मुल्य अझै बढ्न सक्ने सम्भावना रहेको बताएका छन् । ‘डलर कमजोर हुनुको साथै पेट्रोलिय पद्धार्थको मुल्यमा पनि वृद्धि आएको छ, त्यसैले आगामी दिनमा सुनको मुल्य बढ्न सक्छ,’ उनले भने । खासगरी सुनको उत्सर्जनको लागि पेट्रोलियम पद्धार्थको प्रयोग हुने गर्दछ । पेट्रोलियम पद्धार्थको मुल्यमा आएको वृद्धिले सुनको उत्सर्जनको लागत समेत बढाउने हुन्छ । सोहि कारणले पनि सुनको मुल्यमा वृद्धि आउने प्रक्षेपण गरिएको हो ।

शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति आउन्स १३५० अमेरिकी डलर पुग्ने प्रक्षेपण विज्ञहरुको रहेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो एक महिना यता सुनको मुल्य प्रति आउन्स ७४.७० अमेरिकी डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति आउन्स १३३५ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x