Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विद्युत् उत्पादन, प्रसारण तथा वितरणको महत्वाकांक्षी लक्ष्य राख्दै प्रसारण गुरु योजना सार्वजनिक

विद्युत् उत्पादन, प्रसारण तथा वितरणको महत्वाकांक्षी लक्ष्य राख्दै प्रसारण गुरु योजना सार्वजनिक

काठमाडौ,१८ असार ।  सरकारले विद्युत् उत्पादन, प्रसारण तथा वितरणको महत्वाकांक्षी लक्ष्य राख्दै प्रसारण गुरु योजना सार्वजनिक गरेको छ ।  गुरुयोजनाले मुलुकलाई विभिन्न पाँच क्षेत्रमा विभाजन गरी योजनाबद्ध प्रसारण प्रणाली निर्माण गर्ने र सन् २०४० सम्मको विद्युत् उत्पादन ४० हजार मेगावट पुर्याउने लक्ष्य राखेको छ । ऊर्जा उत्पादनमा लाग्न चाहने सरकारी, निजी क्षेत्रलाई समेत सो गुरुयोजनाले महत्वपूर्ण सहयोग पुयाउने विश्वास लिइएको छ । गुरुयोजनामा महाकाली नदी, पश्चिम सेती र कर्णाली करिडोर जोन–१, भेरी नदी करिडोर जोन–२, कालीगण्डकी र मस्र्याङ्दी करिडोर जोन–३, त्रिशूली–चिलिमे, खिम्ती, तामाकोसी करिडोर जोन–४ र कोसी, अरुण र काबेली कोरिडोर जोन–५ उल्लेख छ । विद्युत उत्पादनमा सात खर्ब ८२ अर्ब लगानी हुने अनुमान गुरुयोजनाले गरेको  छ ।

गुरुयोजनामा उत्तरी छिमेकी देश चीन र दक्षिण छिमेकी देश भारत जोड्ने गरी क्रमशः उत्तरतर्फ दुई र दक्षिणतर्फ पाँच अन्तरदेशीय उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । आन्तरिक र अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि करीब सात खर्ब ८२ अर्ब लगानी हुने गुरुयोजनामा उल्लेख छ । सबस्टेसन निर्माणका लागि करीब रु पाँच खर्ब ३४ अर्ब ७९ करोड खर्च लाग्नेछ भने प्रसारण लाइन निर्माणका लागि करीब रु दुई खर्ब ४७ अर्ब ५८ करोड लाग्ने देखिएको छ । देशभित्रको प्रसारण प्रणालीको विस्तार गर्ने, सबै क्षेत्रमा सहज रुपमा विद्युत् प्रवाह गर्ने र अन्तर्राष्ट्रिय रुपमा समेत प्रसारण सञ्जाल जोड्ने तथा विद्युत् बिक्री तथा आयातका लागिसमेत सहज मार्ग निर्माण गर्ने लक्ष्य गुरुयोजनामा राखिएको छ ।

सरकारले पूर्व–पश्चिम राजमार्गको समानान्तर रुपमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको छ भने मध्यपहाडी राजमार्गको समानान्तर रुपमा पनि त्यस्तै प्रसारण प्रणाली स्थापना गरिने भएको छ । उत्तर दक्षिण नदी करिडोरमा पनि उच्च क्षमताका प्रसारण लाइन निर्माण हुनेछन् । हालसम्म १३२ केभी र २२० केभी क्षमताका मात्रै प्रसारण लाइन निर्माण भइरहेको सन्दर्भमा अब बन्ने प्रसारण प्रणाली भने ४०० केभी देखि ६६५ केभीका हुनेछन् ।

गुरुयोजनाअन्तर्गत पूर्वी क्षेत्रमा उत्पादन भएको विद्युत् पश्चिम र पश्चिममा उत्पादन भएको पूर्व प्रसारण गर्न मिल्ने गरी आधार तयार पार्ने लक्ष्य राखेको छ । यस्तै कुनै क्षेत्रमा समस्या आए अर्को क्षेत्रमा असर नपर्ने गरी डिजाइन गरिने समेत गुरुयोजनामा स्पष्ट पारिएको छ ।  सन २०४० सम्म अन्तरिक खपतसमेत २० हजार मेगावाट हुने लक्ष्य राखेको छ । ४० हजार मेगवाट मध्ये २० स्वदेशमै खपत हुने र  बढी हुने विद्युत् छिमेकी देशतर्फ निर्यात गर्न सकिने भएकाले उच्च क्षमताका प्रसारण प्रणाली जरुरी पर्ने सरकारको बुझाइ छ ।

गुरुयोजनाअनुसार करीब आठ हजार किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ । त्यसमा २२० केभी क्षमताका दुई हजार १०० किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । यस्तै ४०० केभीका पाँच हजार ८०० किलोमिटर लाइन विस्तार गरिनेछ । सो भन्दा बढी क्षमताका आवश्यक प्रणाली निर्माण गरिनेछ ।

यस्तै, सन् २०४० सम्म ४२ वटा ४०० केभी, ३८ वटा २२० केभी क्षमताका प्रसारण प्रणाली जोड्ने आधार स्टेशनसमेत निर्माण गुरुयोजनामा समावेश गरिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x