Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

३७ संस्थान मध्ये २६ घाटामा, कुनले बढायो नाफा

३७ संस्थान मध्ये २६ घाटामा, कुनले बढायो नाफा

काठमाडौं, १४ जेठ । व्यवसायीक रुपमा संचालनमा रहेका ३७ वटा सार्वजनीक संस्थान मध्ये २६ वटा मात्र नाफामा छन् भने बाँकी ११ वटा घाटामा छन् । सरकारले सार्वजनीक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७३÷७४ मा नाफामा संचालित संस्थानहरुको खुद नाफा ४२ अर्व ६८ करोड रुपैयाँ छ । त्यस्तै नोक्सानीमा रहेका संस्थानहरुको खुद नोक्सानी भने १ अर्व २५ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्ष सम्म सार्वजनीक संस्थाहरुमा सरकारको कुल लगानी तीन खर्व १२ अर्व ८ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये १ खर्व ५९ करोड सेयर र १ खर्व ५२ अर्व ऋण लगानी रहेको छ।

संस्थानहरुको वित्तिय स्थिती सुधार उन्मुख रहेको सर्वेक्षणमा उल्लेख छ । संस्थानहरुको आय भने गत आर्थिक वर्षको तुलनामा ३३ प्रतिशले बढेको छ।

व्यापारिक क्षेत्र
व्यापारिक क्षेत्र अन्तर्गत कृषि सामाग्री कम्पनी लिमिटेड, राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड, नेपाल खाद्य संस्थान, नेपाल आयल निगम र टिम्बर कर्पोरेसन गरि ६ वटा संस्था संचालनमा रहेका छन् । ति मध्ये राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड र नेशनल ट्रेडिङ्गको संचालन आय घटेको छ । तर टिम्बर कर्पोरेशन, नेपाल आयल निगम, कृषि सामाग्री कम्पनी र नेपाल खाद्य संस्थानको भने संचालनमा आयमा बृद्धि भएको छ ।

सेवा क्षेत्र
सेवा क्षेत्र अन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम , राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द, नेपाल पारवहन तथा गोदम व्यवस्थापन कम्पनी लिमिटेड, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड गरि पाँच संस्थान संचालनमा रहेका छन् । त्यस मध्ये राष्ट्रिय उत्पादन तथा आर्थिक विकास केन्द्र र वायुसेवा निगम भने घाटामा छन् । त्यस्तै प्राधिकरणको आयमा पनि १८ प्रतिशतले घट्न गएको छ ।

सामाजिक क्षेत्र
सामाजिक क्षेत्रमा सांस्कृतिक संस्थान, गोरखापत्र संस्थान, जनक शिक्षा सामाग्री केन्द्र, नेपाल टेलिभिजन र राष्ट्रिय आवास कम्पनी छन् । यी मध्ये गोरखापत्र संस्थान बाहेक अन्य सबै संस्था घाटामा चलेका छन् । तिनीहरुको संचित घाटा तीन अर्व २५ करोड रुपैयाँ रहेको छ ।

जनउपयोगी क्षेत्र
त्यस्तै जनउपयोगी क्षेत्र अन्तर्गत दूरसंचार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, विद्युत उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र नेपाल खानेपानी संस्थान छन् । त्यस मध्ये विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी व्यवसायीक आर्जन गर्ने अवस्थामा पुगेका छैनन । सो अवधीमा विद्युत प्राधिकरणको संचालन आय ४७ प्रतिशत र नेपाल खानेपानीको संचालन १४.९ प्रतिशतले बढेको छ ।

वित्तिय क्षेत्र
वित्तिय क्षेत्रमा कृषि विकास बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, राष्ट्रिय बीमा संस्थान, बीमा कम्पनी लिमिटेड, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, नागरिक लगानी कोष र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड रहेका छन् । यी सबै कम्पनीहरुको संचित नाफामा पनि २२ प्रतिशतले बृद्धि भएको छ ।

यो अवधीमा नेपाल दूर संचार, नेपाल आयल निगम, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक उच्चतम नाफा आर्जन गरेका छन् । त्यस्तै जनकशिक्षा सामाग्री केन्द्र, दुग्ध विकास संस्थान, नेपाल खानेपानी संस्थान, औषधी लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालि सबैभन्दा नोक्सानीमा रहेका छन् । तिनीहरुको घाटा खुद नोक्सानीको २५.३ प्रतिशत छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x