Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

८६ प्रतिशत क्षेत्रमा धान रोपाईं सम्पन्न, पूरा होला त ५६ लाख टन उत्पादनको लक्ष्य ?

८६ प्रतिशत क्षेत्रमा धान रोपाईं सम्पन्न, पूरा होला त ५६ लाख टन उत्पादनको लक्ष्य ?

काठमाडौं, १६ साउन । यस वर्ष समयमा वर्षा शुरु हुँदा एक महिनाको अवधिमा कुल धान खेती हुने क्षेत्रको ८६ प्रतिशत क्षेत्रमा रोपाईं सम्पन्न भएको कृषि विकास, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । नेपालमा असार १५ यता रोपाईं शुरु हुन्छ र उक्त दिनलाई रोपाईं दिवसका रुपमा मनाउने प्रचलन छ । मन्त्रालयका अनुसार वर्षे धान खेती हुने कुल १५ लाख ५२ हजार हेक्टरमध्ये ८६ दशमलव २९ प्रतिशत क्षेत्रमा रोपाईं सम्पन्न भैसकेको छ । यसमध्ये उच्च पहाड तथा मध्यपहाडमा रोपाईंको अवधि लगभग समाप्त भएको छ भने तराईमा भने साउन अन्तिम तथा भदौको पहिलो सातासम्म रोपाई हुन्छ ।
उच्च पहाडमा ५८ हजार १५८ हेक्टर क्षेत्रफलमा रोपाईं हुन्छ । यसमध्ये ८७ दशमलव ५९ प्रतिशत क्षेत्रमा रोपाईं भैसकेको छ । त्यस्तै मध्यपहाडमा तीन लाख ९९ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ, जसमध्ये ८६ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । नेपालको अन्नभण्डार भनिने तराई क्षेत्रमा १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती हुने क्षेत्र रहेकोमा ८६ दशमलव २९ प्रतिशत भूभागमा धान रोपाईं सम्पन्न भैसकेको मन्त्रालयले जनाएको छ ।
यसवर्ष अनुकुल मौसमका कारण समयमा धान रोपाईं सम्पन्न हुनु तथा त्यसयता नियमित वर्षा भैरहेकाले यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । नेपालमा अहिलेसम्म आर्थिक वर्ष २०७३–७४ मा सबैभन्दा उच्च ५३ लाख टन धान उत्पादन भएको तथ्यांक छ । यस वर्ष ५६ लाख टन धान उत्पादन गर्ने राष्ट्रिय लक्ष्य रहेको छ । नेपालमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा करिब ३१ प्रतिशत योगदान गर्दै आएकोमा धानले कृषितर्फको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान गर्छ । धानको उत्पादन राम्रो हुँदा यसले समग्र कृषि उत्पादनको अवस्थामा सुधार ल्याई कुल गार्हस्थ उत्पादन बढाउन मद्दत गर्ने भएकाले धानको उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x