उद्योगका कर्मचारीलाई सामाजिक सुरक्षामा आवद्ध गराउन परिसंघले गर्यो सम्झौता
काठमाडौं, २३ मंसिर । सामाजिक सुरक्षा योजनामा आवद्धता विस्तार तथा उद्योग व्यवसाय क्षेत्रलाई सामाजिक सुरक्षा प्रणालीमा प्रभावकारी रुपमा समावेश गराउन सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष कृष्णहरि पुष्कर तथा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र नेपाल उद्योग परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले समझदारीमा हस्ताक्षर गरेका छन्।
उक्त समझदारीसँगै उद्योग परिसंघले आफ्नो आवद्धतामा रहेका संघ संस्था तथा प्रतिष्ठानलाई श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २००४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सहजीकरण गर्नेछ।
सोही अवसरमा कोषले उद्योग परिसंघसँगको सहकार्यमा सामाजिक सुरक्षा योजनासम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने तथा कार्यक्रमका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएको छ।
दुवै संस्थाले सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकहरूको आवद्धता बढाउन यो समझदारी महत्वपूर्ण कदम रहेको बताउँदै श्रमिक तथा रोजगारदातामाझ सामाजिक सुरक्षा योजनाका बारेमा अझ सुदृढ ढंगले अग्रसरताका साथ साथ आठौं सामाजिक सुरक्षा दिवसको नारा ‘सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्य अभिवृद्धिसहित नागरिकको जीवन रक्षा’ले निर्धारित लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास कोषले लिएको छ।



