व्यापार घाटा ३ खर्ब ७ अर्व नाघ्यो
काठमाडौं, १० पुस । चालु आर्थिक वर्षको ४ महिनामा मुलुकको व्यापार घाटा ३ खर्ब ७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधीको तुलनामा यस वर्ष व्यापार घाटा ९७.९ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार सो अवधीमा २६ अर्ब ३५ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा आयत भने ३ खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । पशु आहार, धागो, बनस्पती घ्यु, जुस अलैंची जस्ता वस्तुको निर्यात गर्ने गरेको मुलुकले त्यसको बदलामा पेट्रोलियम पदार्थ, यातायातका साधन, पाटपुर्जा, विद्युतीय सामान र रसायनीक मलको आयात गरेको छ ।
विदेशी वस्तुसंग स्वदेशी वस्तुको प्रतिस्पर्धा गर्ने क्षमता नहुँदा पनि व्यापार घाटा उच्च भएको हो । धागो बनस्पती घ्यु, तयारी पोषाक लगायत वस्तुको निर्यात वढेको छ भने अलैंची, जुस, जिआई पाईप जस्ता वस्तुको निर्यात घटेको छ । यो वीचमा भारतबाट आयत १२ दशमलव २ प्रतिशतले वढेको छ भने अन्य मुलुकबाट १७ दशमलव ४ प्रतिशतले आयात वढेको छ । चीनसँगको आयात भने ४ दशमलव ८ प्रतिशतले घटेको छ ।