नागढुङ्गा सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेण्डर, पाँच वर्षको मर्मत जिम्मा
काठमाडाैं, १६ कार्तिक । नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग अब अन्तर्राष्ट्रिय अनुभवी सेवा प्रदायकमार्फत सञ्चालन र मर्मत गरिने भएको छ। नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (टेण्डर) आह्वान गर्दै पाँच वर्षका लागि सेवा प्रदायक छनोटको प्रक्रिया अघि बढाएको हो। इच्छुक कम्पनीहरूले आगामी पुस २ गतेसम्म बोलपत्र बुझाउन सक्नेछन्।
सुरुङ मार्ग हाल भौतिकरूपमा सवारीसाधन चलाउन सक्ने अवस्थामा पुगेको भए पनि दक्ष जनशक्ति, सुरक्षाको तयारी र व्यवस्थापन अभावका कारण सञ्चालनमा आउन सकेको छैन।
२.७ किलोमिटर लामो मुख्य सुरुङ र २.६ किलोमिटर आपतकालीन सुरुङ सहितको यो संरचना अत्याधुनिक प्रविधि र प्रणालीले सुसज्जित छ। सरकारद्वारा सडक उपभोग दस्तुर (टोल) पनि तोकिएको छ।
तर सडक विभागको हालको कार्यबोझ, सीमित अनुभव र जनशक्ति अभावका कारण सुरुङ सञ्चालन तथा मर्मत चुनौतीपूर्ण हुने भन्दै मन्त्रालयले विशेष तालिम प्राप्त दक्ष जनशक्तिबाट सेवा लिने निर्णय गरेको हो।
छनोट हुने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको सञ्चालन र मर्मतको जिम्मा लिनेछ। सो अवधिमा विदेशी विज्ञहरूले नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण गर्ने व्यवस्था पनि गरिएको छ, जसले भविष्यमा देशमै अन्य सुरुङ तथा फास्ट ट्र्याकजस्ता परियोजना सञ्चालन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
सुरुङ २४ घण्टा सञ्चालनमा रहने भएकाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रँदा तत्काल आपतकालीन सेवा आवश्यक पर्छ। त्यसका लागि शिफ्ट प्रणालीमा कर्मचारी खटाउने र आपतकालीन टोली स्थापना गर्ने व्यवस्था हुनेछ।
यसका लागि कुल १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ, जसमा सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा विभिन्न युनिट रहनेछन्।
सुरक्षा व्यवस्थापनका लागि ६४ जना, टोल संकलनका लागि ५४ जना, ट्राफिक अनुगमन तथा नियन्त्रणका लागि १४ जना, र सिभिल तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।
यो सुरुङ नेपालकै पहिलो आधुनिक सडक सुरुङ हो, जसको सञ्चालनसँगै काठमाडौं उपत्यका र पश्चिम क्षेत्रबीचको यातायात समय र खर्च दुबै घट्ने अपेक्षा गरिएको छ।




