६ वर्षपछि बुद्ध एयरको काठमाडौं–कलकत्ता उडान पुनः, साप्ताहिक चार पटक सेवा
काठमाडाैं, १६ कार्तिक । करिब छ वर्षको अन्तरालपछि बुद्ध एयरले भारतको कलकत्तातर्फ सिधा उडान पुनः सुरु गर्ने भएको छ। वायुसेवाले आगामी नोभेम्बर १५ (कात्तिक २९) देखि काठमाडौं–कलकत्ता उडान पुनः सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ।
बुद्ध एयरका अनुसार यसअघि साप्ताहिक तीन दिन मात्र हुने भनिएको उडानलाई अब साप्ताहिक चार दिन सञ्चालन गरिनेछ। नयाँ तालिकाअनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार बुद्ध एयरका विमान काठमाडौं र कलकत्ताबीच उड्नेछन्।
यो मार्ग बुद्ध एयरले २०७६ जेठतिर पहिलो पटक सञ्चालन गरेको थियो, तर व्यावसायिक कारणले केही महिनामै सेवा स्थगित गर्नुपरेको थियो। कम्पनीले विगतका कमजोरी सुधार्दै पुनः नियमित उडान सुरु गर्न लागेको बताएको छ।
एटीआर–७२ विमानमार्फत हुने यो उडान करिब डेढ घण्टाको हुनेछ। टिकट बुकिङ खुलिसकेको कम्पनीले जनाएको छ। प्रारम्भिक भाडा रु. १४,५०० बाट सुरु हुने र अधिकतम रु. ३१,२०० सम्म पर्नेछ।
हाल बुद्ध एयरले भारतको बनारसमा नियमित उडान गर्दै आएको छ। कलकत्ता गन्तव्य थपिएसँगै भारततर्फ कम्पनीको अन्तर्राष्ट्रिय सञ्जाल थप विस्तार हुने भएको छ।
बुद्ध एयरले जनाएको छ, “कलकत्ता मार्ग हाम्रो पुरानो गन्तव्य हो। यात्रुको माग, पर्यटन प्रवर्द्धन र क्षेत्रीय सम्पर्क विस्तारका लागि पुनः सञ्चालन गर्न लागिएको हो।”
उक्त पुनः सञ्चालनसँगै नेपाल र पूर्वी भारतबीचको हवाई आवागमन थप सुदृढ हुने अपेक्षा गरिएको छ।



