Date

सोम, कार्तिक १७, २०८२
Mon, November 3, 2025

कांग्रेस केन्द्रीय समिति बैठक आज: महाधिवेशनको मिति विवाद समाधान गर्ने दबाब

कांग्रेस केन्द्रीय समिति बैठक आज: महाधिवेशनको मिति विवाद समाधान गर्ने दबाब

काठमाडाैं, १६ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। शुक्रबार स्थगित भएको यो बैठक पार्टीको आसन्न १५औँ महाधिवेशनको कार्यतालिका लाई लिएर जारी रहेको आन्तरिक विवाद समाधानमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

पछिल्लो समय पार्टीमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा को पक्षले आगामी डिसेम्बर महिनाभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखिरहेको छ। तर, संस्थापन पक्षले भने तत्काल महाधिवेशन सम्भव नभएको र यसलाई आगामी निर्वाचनपछि मात्रै गर्ने गरी कार्यतालिका मिलाउनुपर्नेमा जोड दिँदै आएको छ।

यही विवादका बीच, पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन को माग गर्दै हस्ताक्षर बुझाएका छन्। यसले केन्द्रीय नेतृत्वलाई समयमै महाधिवेशनको निर्णय गर्न ठूलो दबाब सिर्जना गरेको छ।

पार्टीभित्रको गहिरिँदो कित्ताकाटलाई मध्यनजर गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले पूर्ण केन्द्रीय समिति बैठकअघि महामन्त्रीद्वय र शीर्ष नेताहरूसँग छुट्टै छलफल बोलाएका छन्। आजको बैठकमा विशेषतः यही महाधिवेशनको मिति र महाधिवेशन प्रतिनिधिहरूको विशेष महाधिवेशनको मागबारे छलफल हुनेछ। पार्टीलाई एकजुट राख्दै सबैको चित्त बुझ्ने साझा कार्यतालिका ल्याउनु कार्यवाहक सभापतिको लागि मुख्य चुनौती बनेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *