वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्काशन गर्दै सालपा विकास बैंक
काठमाडौं, १६ मंसिर । सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि प्राथमिब शेयर निष्काशन (आईपीओ) तथा गर्ने भएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने अनुमति पाएको छ ।
सोमध्ये १० प्रतिशतले हुन आउने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म लम्बिने बताइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माढा गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।



