Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तीन महिनामा ७ सय ४८ फर्ममा अनुगमन, तिहार लक्षित बजार अनुगमन सुरु हुँदै

तीन महिनामा ७ सय ४८ फर्ममा अनुगमन, तिहार लक्षित बजार अनुगमन सुरु हुँदै

दिलु कार्की
काठमाडौं, ११ कात्तिक । चालु आर्थिक बर्षको पहिलो तीन महिनामा सरकारको अनुगमन टोलीले उपभोक्ता ठगी गर्ने २७ वटा उद्योग तथा व्यवसायिक फर्म शिलबन्दी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चालू आर्थिक वर्षको तीन महिनामा ७ सय ४८ वटा व्यवसायी फर्ममा अनुगमन गरिएकोमा २७ वटाले न्यूनतम मापदण्ड पालना नगरेको र बढी मूल्य लिई उपभोक्तालाई ठगेको पाएपछि शिलबन्दी गरेको हो ।

अत्याधिक मूल्य लिएर उपभोक्ता ठगि गर्नेमा काठमाडौं न्यूरोडको पिनटस्, जमलको द कोरियन, बानेश्वरको सङ्गम स्वीट, धर्मपथको श्री पिनटस् लगायतका व्यापारिक फर्म रहेको विभागले जनाएको छ ।

विभागका अनुगमन शाखाका शाखा अधिकृत खगेन्द्रराज जोसीका अनुसार शिलबन्दी गरिएका मध्ये अधिकांश पसलको अनुगमन गर्ने क्रममा पसल दर्ताको नवीकरण नभएको, सामान खरिदको बिलविजक दिन नसकेको जस्ता फर्ममा शिलबन्दी गरिएको छ । उनीहरूले आवश्यक प्रमाण लिएर विभागमा उपस्थिति भएमा शिलबन्दी पुनः खोलिने जानकारी दिए ।

दशैंमा अनुगमन गरेर शिलबन्दी गरिएका ठूला सपिङ महल द पिनटस् र द कोरियनले अहिलेसम्म आवश्यक प्रमाण जुटाउन नसकेको र आवश्यक प्रमाण लिएर संचालक स्वयंम उपस्थिति नहुँदासम्म ती पसलको शिल नखुल्ने जोशीले जानकारी दिए । विभागको टोलीले गरेको अनुगमनका क्रममा कोरियन सप सञ्चालकले ४ सय प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो । द पिनटस्ले भने विभिन्न सामानहरुमा ६० प्रतिशत देखी ३ सय प्रतिशत सम्म बढी मुल्य लिनुका साथै सञ्चालकसंग अनुगमन टोलीले सामान खरिद गरेका बिल देखाउन माग गर्दा देखाउन नसकेको उनले बताए ।

द पिनटस् र द कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी शिलबन्दी गरिएको र अहिले सम्म विभागले आवश्यक कागज उनीहरुसँग माग गरेको भएता पनि उनीहरुले बुझाउन नसकिरहेको शाखा अधिकृत खगेन्द्रराज जोशीले बताएका छन् । आवश्यक कागज विभागमा बुझाउन नसकेमा पाटन पुनरावेदन अदालतमा मुद्धा दायर गर्ने जोशीले जानकारी दिए ।
अन्य समयको तुलनामा चार्डपर्वको समयमा व्यापारीहरुले उपभोक्ता बढी ठग्ने हुदाँ तिहारलाई लक्षित गरि पुन अनुगमन टोलीलाई बजारमा परिचालन गरिने विभागको योजना रहेको छ।

विभागका अनुसार पछिल्लो तीन महिनामा देशभर ७ सय ४८ वटा व्यवसायी फर्मको अनुगमन गरिएकोमा उपत्यका बाहिर १ सय ७४ र उपत्यकामा मात्रै ५ सय ७४ वटा व्यावसायिक फर्मको अनुगमन गरिएको थियो । सो अवधिमा चारवटा फर्मको कारोबार बन्द गरिएको छ भने झण्डै नौ लाख बराबरका म्याद नाघेका सामान नष्ट गरिएको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x