Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सगरमाथाको उचाई कति ? परम्परागत र आधुनिक विधिको प्रयोग गरि नाप्दै छ नापी विभाग

सगरमाथाको उचाई कति ? परम्परागत र आधुनिक विधिको प्रयोग गरि नाप्दै छ नापी विभाग

बलराम बुढाथोकी
काठमाडौं, २ फागुन । सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई मिश्रित विधिद्वारा मापन गर्ने भएको छ । उचाई मापन गर्ने जिम्मेवारी पाएको नापी विभागले परम्परागत र आधुनिकविधिको प्रयोग गरी उचाइ मापन गर्ने भएको हो । नापी विभागका अनुसार परम्परागत विधिमा परिशुद्ध समतलन विधि र त्रिकोणमितिय समतलन विधिको प्रयोग गरिने छ । त्यस्तै आधुनिक विधिमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस)द्वारा समुन्द्र सतहदेखि सगरमाथाको चुचुरो सम्म नापिने छ ।

नापी विभागका प्रवक्ता दामोदर ढकालका अनुसार सेटलाइटबाट जमिनको उचाइ मापन गर्ने प्रविधि जीपीएस प्रविधि हो । परिसुद्ध समतलन विधि प्रयोग गरी सिराहाको माडरबाट सोलुखुम्बुसम्मको उचाइ नापिसकिएकोप ढकालले जानकारी दिए । ‘हामीले सिराहको माडरबाट सोलुखुम्बुसम्मको उचाई मापन गरिसकेका छौं ’ उनले भने– ‘परम्परागत समतलनको परिशुद्ध विधिद्वारा सगरमाथाको चुचुरोसम्म नाप गर्न सकिँदैन् । त्यसको लागि परम्परागत समतलनकै त्रिकोणमितिय विधिको प्रयोग गरिने छ । हामीले सगरमाथाको चुचुरो भन्दा केही होचा १२ वटा डाँडाहरुलाई आधार मानेका छौं ।’

होचा डाँडाको उचाइ मापन गरेपछि सगरमाथाको टुप्पोको नाप लिन त्रिकोणमितिय विधिको प्रयोग गरिने प्रवक्ता ढकालले बताए । अर्थको अर्थसँग उनले भने–‘होचा डाँडाको नाप आएपछि त्यहाँ मेसिन जडान गरी सगरमाथाको टुप्पोमा सिग्नल राखिन्छ अनि त्यसका आधारमा उचाई मापन गरिन्छ ।’ समुन्द्र सतहदेखि सिराहाको माडरसम्म भारतीय प्राविधिक टोलीले मापन गर्ने छन् ।

त्यस्तै समतलन नाप अन्तिम चरणमा पुगेको भएपनि सगरमाथाको गुरुत्वाकर्षण नाप्नका लागि यन्त्र खरिद प्रक्रियामा छ । पृथ्वीको गुरुत्वाकर्षणले पनि उचाई मापनमा प्रभाव पार्ने भएकोले जमिनको गुरुत्वाकर्षन नाप्नु पर्ने हुन्छ । सन् १९९४ मा भारतले मापन गरेको सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई अहिले नेपाल सरकारले मान्यता दिएको छ । अमेरिका र चीनले सगरमाथाको उचाइ मापन गरेको भएपनि फरक फरक उचाइ निकालेका थिए । अब सगरमाथाको आधिकारिक उचाइ पत्ता लगाउन नेपाल सरकार आफैले गत वर्षको फागुन महिनाबाट मापन कार्य गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x