Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

म आकाशको तारा झारिदिन्छु भन्दिन,तर अहिले भइरहेको भन्दा राम्रो गर्छु : खुमबहादुर सुबेदी

म आकाशको तारा झारिदिन्छु भन्दिन,तर अहिले भइरहेको भन्दा राम्रो गर्छु : खुमबहादुर सुबेदी

काठमाडौं, ५ भदौ । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को यही भदौ २० गते हुने ४१ औं बार्षिक साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । टानको नेतृत्व चयनको विषयलाई लिएर व्यवसायीहरुबीच छलफल चलिरहेको छ । आगामी नेतृत्वका लागि हालका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनी विगत २५ वर्ष देखि पर्यटन व्यवसायमा आवद्ध छन् । युनिक एड्भेञ्चर ईन्टरनेशनल नेपाल प्रा.लिका प्रबन्ध निर्देशक सुबेदीले यसअघि कार्यसमिति सदस्य र कोषाध्यक्षको रुपमा आफ्नो जिम्मेवारी बहन गरिसकेका छन् ।
पदयात्रा पर्यटन व्यवसायको समस्या समाधान गर्दै व्यवसायीक एकता कायम गर्न, हाल कायम रहेको टिम्स बिवाद अन्त गरि टानलाई आर्थिकरुपमा शसक्त बनाउन चाहेको भन्दै नेतृत्वका लागि अवसर दिन उनले सबैसँग आग्रह गरेका छन् । उनै सुबेदीसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईले टानको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ। तपाईको उम्मेदवारी किन ?
म लामो समय देखि पर्यटन क्षेत्रमा क्रियाशिल छु । त्यसमा पनि अझ सन् २००० देखि नै टानमा आवद्ध छु । सन् २००७–२००९ को कार्यससमितमा सदस्य, सन् २००९ देखि २०११ को कार्यसमितिमा कोषाध्यक्ष र अहिले सन् २०१७–२०१९ को कार्यसमितिमा बरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत छु । अवको मेरो लक्ष्य भनेको दुई वर्ष पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने हो ।
म आकाशको तारा झारिदिन्छु भन्दिन,तर अहिले भइरहेको भन्दा राम्रो गर्छु । त्यो काम गर्ने क्षमता मसँग छ । किन की मैले व्यवसायीक समस्या बुझेको छु । त्यसलाई हल गर्न र पर्यटन व्यवसायको विकास गर्न के गर्नु पर्छ भन्ने राम्रो ज्ञान छ । पर्यटन व्यवसायीको हित र पर्यटन क्षेत्रको विकासका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।

अध्यक्षका रुपमा तपाईको अन्य एजेन्डा के–के छन् ?
अहिले सम्म पर्यटन व्यवसाय परम्परागतरुपमा चलिरहेको छ । यसलाई आधुनिकता दिनको लागि मैले अध्यक्ष पदमा आकांक्षा देखाएको हुँ । खास गरि अहिले विभिन्न स्थानमा सडक संजाल पुगिसकेको छ । जसको कारण पदयात्रा पर्यटकहरुको दिनहरु घटिरहेको छ । पर्यटक आउनेक्रममा पनि परिर्वतन आएको छ। त्यो अवस्थामा पर्यटनमैत्री पूर्वाधार विकास आवश्यक छ ।
त्यस्तै, नीजि र सरकारी क्षेत्रबीच सहकार्य गरेर पर्यटन विकासमा जानुपर्ने अवस्था छ । त्यसका लागि नेपाल पर्यटन बोर्ड र टानको सहकार्यलाई अघि बढाउन आवश्यक छ। बदलिँदो समय अनुसार पर्यटन व्यवसायलाई पनि डिजिट बनाउन आवश्यक छ । सरकारले पनि व्यवसायीक समस्यालाई खासै सम्बोधन गर्न सकेको छैन । त्यसमा अलि पहल कदमी चाल्न आवश्यक छ।
अर्को कुरा हामीले जतिपनि काम गरेका छौं ति सबै छायाँमा परेका छन् । त्यसको पनि उचित प्रचार–प्रसार गर्न आवश्यक छ । नयाँ पदयात्राहरुको खोजी गर्दै भएकाहरुको संरक्षण र प्रचार गर्नुपर्ने छ ।
अर्को महत्वपूर्ण विषय भनेको ट्याक्स, भ्याट हो । अन्य मुलुकमा २–३ प्रतिशत ट्याक्स, भ्याटको रुपमा लिइन्छ । तर अहिले हामी कहाँ १३ प्रतिशत छ । यो नेपालको पर्यटनको सन्दर्भमा उपयुक्त छैन । ट्याक्स, भ्याटमा यो मोडालिटि अपनाउँदा व्यवसाय धरासायी हुने अवस्था छ । अहिले पनि नेपालको प्याकेजिङ्ग महंगो भएको गुनासो सुन्न थालिएको छ। यी बाहेक व्यवसायीक छलफलबाट उठेका समस्या निराकरण गर्न पहल गर्ने छौं ।

टानमा सहमतिय नेतृत्व चयनका लागि तपाई पछि हट्न तयार हुनुहुन्छ ?
सर्वसहमतिको पक्ष निकै कम छ । सर्वसहमति भए राम्रो । तर जुन कुनै बखतमा पनि म टानको आगामी अध्यक्षको उम्मेदवार हो । तपाईलाई उदाहरणका रुपमा भनौ, एउटा फ्लाइटमा मैले अहिले सम्म एयर एटेन्डेन्सको रुपमा काम गरिरहेको छु । क्याप्टेन अर्थात पाइलट हुन पाएको छैन । म अव क्याप्टेनको भूमिकामा टानलाई सहि दिशामा ल्यान्ड गराउन चाहन्छु । मलाई थाहा छ उडानका क्रममा अवरोधहरु आउछन । त्यसबाट आतिनु हँुदैन ।

उसो भए तपाईको प्यानल कस्तो हुन्छ ?
व्यवसायीक प्यानल हुन्छ । यहाँ सिद्धान्त्का कुरा छाडौं । तपाईको र मेरो सिद्धान्त फरक होला । कोही व्यवसायी कतै म कतै आवद्ध हौला । तर हामी व्यवसायी हौं । व्यवसायीक एजेन्डा बोक्ने र व्यवसायीक हकहितका लागि विगतमा लडेका र भविष्यमा पनि लडिरहने प्यानल निर्माण गछौं ।

प्रसंग बदलौ, अहिले पदयात्रा व्यवसायीको मुख्य समस्या के हो ?
पहिलो कुरा त विमानस्थलको अभावका कारण गुणस्तरीय पर्यटक नेपाल समस्या भइरहेको छ। गुणस्तरीय पर्यटकहरु १०–१२ घण्टा कनेक्सनमा बसेर नेपालको यात्रा गर्न रुचाउदैनन् । अर्को तर्फ विश्व बजारमा नेपालबारे धेरैलाई थाहा छैन् । प्रचार प्रसार छैन । हाम्रै छिमेकी मुलुक भारत र चीनसँग पनि पर्यटन विकासमा प्रतिस्पर्धा गर्नुपर्ने छ । त्यो हाम्रो लागि सजिलो छैन् । जनशक्ति पनि प्रयाप्त छैन । भेइकल, विमानस्थलको समस्या पनि छदैछ भने विमानहरु पनि प्रयाप्त छैन ।
भाषागत गाइडको समेत अभाव छ । पदयात्रामा जादाँको सडक मार्ग पनि उपयूक्त छैन् । अर्को व्यवसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धा पनि कायमै छ । यि सबैलाई समस्याहरुलाई हटाउदै अघि बढ्नुपर्ने अवस्था छ।

टान आर्थिक रुपमा धरासायी छ भन्ने कुरा सत्य हो ?
२–४ करोडको कुरा हो । व्यवसायीक संस्थाका लागि यो ठुलो कुरा होइन । यो जो कोहीले पनि सहयोग गर्न सक्छ । हामीले सहि काम गरेर व्यवसायीलाई देखाउन पर्यो । विगतमा पनि कुनै सहयोग बिना साधारण सदस्यले दिएको डोनेशनबाट पनि टान चलिरहेको थियो । अहिले खर्चको अवस्था बढेको छ । त्यसकारण पनि तल–माथि भएको हो । त्यो ठुलो रकम होइन । संस्थालाई व्यवसायीक हितमा काम लगाउने हो भने आर्थिक समस्या ६ महिनामा हल हुन्छ । त्यो म गरेर देखाउछु ।

टिम्स बिबाद चाहीँ किन हल हुन सकेन ?
यो नेपाल सरकारले बुझ्नुपर्ने कुरा हो । हामी नेपाल सरकारको एउटा अंगमात्र हौ । नेपालमा पर्यटक ल्याउन हामी मात्र उत्तरदायी हुने अवस्था छैन । नेपाल सरकार लगायत सबै संघसंस्था उत्तरदायी हुनुपर्छ । टिम्सको महत्व सरकारले बुझेको छैन । त्यसकारण यसको सहि प्रयोग हुन सकेको छैन । हामीले अनुरोध गरेका छौं । टिम्सलाई अपाङ्ग नबनाऔं । यो विषयपनि हामी हल गछौं ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x