Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

देशभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै, एघार सय किमी सडक उज्यालो हुँने

देशभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै, एघार सय किमी सडक उज्यालो हुँने

पूर्ण प्रसाद चौलागाई 
२०७३ पुष २३, काठमाडौं । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालभर रहेका सडकमा सौर्य सडक बत्ती जडान गर्न रकम विनियोजन गरेको छ । मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको हो ।

मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये १४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न रु ५० करोड विनियोजन गरेको हो । मन्त्रालयले जनहसभागितामा आधारित रहेर सौर्य सडक बत्ती जडान गर्न २१७ नगरपालिकासँग प्रस्ताव आह्वान गरेको थियो । ती मध्ये १४३ नगरपालिकाले मात्र आफ्ना नगर क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न प्रस्ताव पेस गरेका थिए ।

सौर्य सडक बत्ती जडानका लागि मन्त्रालयले विनियोजन गरेको कुल रु ५० करोड बजेटमध्ये पहिलो चरणमा विभिन्न नगरपालिकालाई रु ४७ करोड ७२ लाख ५३ हजार अनुदानस्वरुपको रकम उपलब्ध गराई सकिएको मन्त्रालयले जनाएको छ । त्यस्तै दोस्रो चरणमा सौर्य सडक बत्ती जडान गर्न विभिन्न २१ वटा नगरपालिकाले प्रस्ताव पेस गरेका र तीन नगरपालिकालाई रु दुई करोड अनुदान निकासा गरिएको छ ।

मन्त्रालयअन्तर्गको नगरपालिका शाखाका उपसचिव नरहरि शर्मा भण्डारीले १४३ नगरपालिकालाई कुल ४५ हजार ३०८ वटा सडक बत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको बताए । नगर क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न मन्त्रलालयले ६५ प्रतिशत अनुदान दिनेछ । त्यस्तै प्रत्येक नगरपालिकाले २० प्रतिशत र उपभोक्ता समितिले १५ प्रतिशत रकम व्यहोर्नुपर्ने हुन्छ ।

एघार सय किमी सडक उज्यालो हुँदै
चालु आवमा करिब ४५ हजार ३०८ थान सौर्य सडक बत्ती जडान भएपछि नगर क्षेत्रका करिब एक हजार १०० किलोमिटर सडक उज्याला हुनेछन् । सरकार, स्थानीय निकाय र जनसहभागिताबाट सञ्चालन गरिने यस कार्यक्रममार्फत् चालु आवमा देशभरका करिब ५० हजार सडक बत्ती विस्थापन गरिने मन्त्रालयको योजना छ ।

सौर्य सडक बत्ती जडान गरिएपछि सडक बत्ती बालेबापत नेपाल विद्युत् प्राधिकरणलाई तिर्दै आएको महसुलमा कमी आई नगरपालिकालाई आर्थिक व्ययभार कम पर्नेछ । यसअघि सडक बत्ती बालेबापत महा÷उपमहा÷नगरपालिकाले अर्बौ रकम विद्युत् प्राधिकरणलाई तिर्दै आएका थिए । त्यस्तै सौर्य सडक बत्ती जडानसँगै राष्ट्रिय रुपमा विद्युत् खपतमा कमी आउने र सरकारको विद्युत्भार कटौती अभियानलाई पनि महत्वपूर्ण सहयोग पुग्ने उपसचिव भण्डारीको भनाइ छ ।

सौर्य सडक बत्ती जडान भएपछि नगर क्षेत्रमा हुने आपराधिक घटनामा कमी आउने र सुरक्षा व्यवस्था चुस्त राख्न पनि सहयोग पुग्नुका साथै सडकमा रातिको समयमा पनि हिँडडुल गर्न सहज हुने उहाँले बताउनुभयो ।

उपत्यकामा १९ हजार सौर्य सडक बत्ती
मन्त्रालयले उपत्यकाका २२ वटा नगरपालिकामध्ये १८ वटा नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न अनुदान निकासा गरिसकेको छ । काठमाडौँ महानगरपालिकालाई चालु आवमा २५२ आयोजनाअन्तर्गत आठ हजार ५४१ वटा सौर्य सडक बत्ती जडान गर्न रु पाँच करोड ९६ लाख ८६ हजार अनुदान उपलब्ध गराइएको छ । त्यस्तै ललितपुर उपमहानगरपालिकालाई दुई हजार १८८, गोकर्णेश्वर नगरपालिकालाई एक हजार ५३२, मध्यपुर ठिमी नगरपालिकालाई एक हजार २६३, कागेश्वरी नगरपालिकालाई ७६९, भक्तपुर नगरपालिकालाई ७५९ र कार्यविनायक नगरपालिकालाई ६६० वटा सौर्य सडक बत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको छ ।

त्यस्तै तारकेश्वर नगरपालिकालाई ६४४, बूढानीलकण्ठ नगरपालिकालाई ५५६, नागर्जुन नगरपालिकालाई ४४६, चन्द्रागिरि नगरपालिकालाई ३९४, अनन्तलिङ्गेश्वर नगरपालिकालाई २७५, महालक्ष्मी नगरपालिकालाई २७०, कीर्तिपुर नगरपालिकालाई २०७, दक्षिणकाली नगरपालिकालाई १५५, नगरकोट नगरपालिकालाई ५०, शङ्खरापुर नगरपालिकालाई ३५ र सूर्यविनायक नगरपालिकालाई आठ वटा सौर्य सडक बत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको छ ।

यस्तै विराटनगर उपमहानगरपालिकाले दुई हजार ६४६, वीरगन्ज उपमहानगरपालिकाले एक हजार ५५०, भरतपुर उपमहानगरपालिकाले ५१५, बुटवल उपमहानगरपालिकाले ४६८, हेटौँडा उपमहानगरपालिकाले ३९४, इटहरी उपमहानगरपालिकाले ३३७, धरान उपमहानगरपालिकाले ३३६, धनगढी उपमहानगरपालिकाले २९९ र नेपालगन्ज उपमहानगरपालिकालाई २०० वटा सौर्य सडक बत्ती जडान गर्न मन्त्रालयबाट अनुदान पाएका छन् ।

मन्त्रालयले बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्डअनुसार स्वीकृति प्राप्त सोलार कम्पनीबाट सौर्य सडक बत्ती जडान सकिने जनाएको छ । केन्द्रको मापदण्डमा सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा पाँच वर्ष र सौर्य बत्तीमा दुई वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले यही पुस २५ गतेभित्र सबै नगरपालिकालाई टेन्डर प्रक्रिया सकेर काम सुरु गर्न निर्देशन दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x