भारतले पाम तेल आयात रोकेपछि नेपालले संवाद थाल्यो, कुनै देशप्रति लक्षित नीति नभएको स्पष्टोक्ति
काठमाडौं, २५ पुस । नेपालबाट भारत निर्यात हुने सबैभन्दा प्रमुख वस्तु पाम आयलको आयात रोकेपछि नेपालले भारतसँग संवाद थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शीर्ष तहबाट बिहीबार भारतीय दूतावासका उच्च अधिकारीसँग छलफल भएको हो । नेपालबाट भारतमा निकासी भइरहेको पाम आयालको भारतले अचानक आयात रोक्दा नेपालमा सञ्चालित २२ भन्दा बढी उद्योग संकटमा पर्ने भन्दै नेपालले लचकताका लागि भारतसँग आग्रह गरेको हो ।
भारतले भने पाम तेल आयात प्रतिबन्ध गर्ने नीति कुनै देश लक्षित नरहेको भन्दै सबैलाई समान व्यवहार गरिने प्रष्ट पारेको छ । नेपालले भने भारत र मलेसियाबीचको कटुताका कारण उक्त देशहरुबाट आयात हुने पाम तेललाई भारतमा प्रतिबन्ध लागेको रुपमा बुझेको संवादका क्रममा जानकारी गराएको थियो । जवाफमा भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले यो नीति कुनै देश लक्षित नभएको जवाफ दिएको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
खासगरी मलेसियाली प्रधानमन्त्री मोहम्मद महाथिरले भारतमा लोकतन्त्रको मजाक उठाइएको टिप्पणी गरेपछि दुई देशबीच कटुता बढेको छ । भारतमा नागरिकता विधेयकलाई लिएर भइरहेको आन्दोलनमा सरकारले दमन गरेपछि महाथिरले उक्त टिप्पणी गरेका थिए । भारतले यसलाई कुटनीतिक मर्यादाको खिलाफ भएको बताएको छ । यही क्रममा भारतले बुधबार पाम आयाल आयातमा प्रतिबन्ध लगाएको थियो । नेपाल पनि भारतमा पाम आयाल निर्यात गर्नेमा प्रमुख देशमध्येमा छ । इण्डोनेसियाबाट कच्चा पाम आयाल आयात गरेर सामान्य प्रशोधनपछि भारतीय बजारमा निकासी हुँदै आएको छ । चालु आर्थिक वर्षमा पाम आयालको निकासी ७५६ प्रतिशत वृद्धि भएर पहिलो पाँच महिनामै ११ अर्ब ५२ करोड रुपैयाँको पाम आयाल भारतमा निकासी भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
भारतले भने सबै देशलाई समान उपचार लागू हुने भन्दै नेपाललाई मात्र सुविधा दिन नसकिने बताइसकेको छ ।