Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

जलस्रोत विकासमा लगानी भित्र्याउन काठमाडौंमा सम्मेलन

जलस्रोत विकासमा लगानी भित्र्याउन काठमाडौंमा सम्मेलन

काठमाडौं, माघ १४ । जलस्रोत विकासमा लगानी भित्र्याउने उद्देश्यले काठमाडौंमा तीन दिने उर्जा लगानी सम्मेलन शुरु भएको छ । शनिबादेखि सोमबारसम्म चल्ने उक्त सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उक्त सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जलस्रोतको समुचित परिचालनबाट देश संवृद्धितर्फ अग्रसर हुने उल्लेख गरेकी छिन् ।
‘राजनीतिक परिवर्तनसँगै अब हाम्रो मुख्य लक्ष्य भनेको उच्च आर्थिक वृद्धिदर हासिल गर्नु हो,’ राष्ट्रपति भण्डारीले भनिन् । उनले देशको विकासका लागि पूर्वाधार र खासगरी जलविद्युत्को विकासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।
आगामी १० वर्षमा ४०,००० मेगावाट जलविद्युत् उत्पादनका लागि लगानी भित्र्याउने उद्देश्यले जलविद्युत् लगानी सम्मेलन आयोजना गरिएको हो । यो सम्मेलनको अवधिभर लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसर र यस क्षेत्रसँग सम्बन्धित ऐन, कानून तथा अवसरहरुका सम्बन्धमा जानकारी दिइनेछ ।
कार्यक्रममा सरकारी अधिकारी, राजदूतहरु, कूटनीतिक नियोगका प्रतिनिधि, नेपाल, चीन, भारत बंगलादेश, जर्मनीबाट लगानीकर्ता, विज्ञहरु, जलविद्युत् विकासका लागि आवश्यक सामग्री आपूर्तिकर्ताहरुको सहभागिता छ । बैंक, वित्तिय संस्था, कन्सल्टेन्सी, सामग्री आपूर्तिकर्ता लगायतले उनीहरुको सेवाको प्रदर्शनी पनि गरिरहेका छन् ।

कार्बन उत्सर्जन गर्ने उर्जाका स्रोतहरुको अत्याधिक प्रयोगबाट जलवायुमा परेको प्रभावलाई उल्लेख गर्दै राष्ट्रपतिले जलस्रोत वातावरणमैत्री र दीगो उर्जाको स्रोत साथै ‘प्रकृतिको अनुपम उपहार’ भएको बताइन् । भूपरिवेष्ठीत नेपाल जलस्रोतमा धनी देश हो । हिमालयबाट हिउँ पग्लिएर बग्ने ६,००० भन्दा बढी नदीनालाहरुमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना छ । नेपालको जलस्रोतबाट ४३,००० मेगावाट विद्युत् उत्पादन हुनसक्ने आँकलन गरिएको छ । अहिलेसम्म देशले एक हजार मेगावाट मात्र जलविद्युत् उत्पादन गर्न सकेको छ, जुन उर्जा उत्पादन गर्न सक्ने सम्भाव्यताको तुलनामा अत्यन्त न्यून हो ।
राष्ट्रपतिले स्वदेशी, विदेशी दुवैथरी लगानीकर्तालाई लगानी बढाउन आग्रह गरेकी छिन् । सरकारले लगानीका लागि लगानीकर्ताको वास्तविक चासो र आवश्यकता अनुकूल वातावरण तयार गर्न लागेको भन्दै उनले निर्धक्क भएर लगानी गर्न आग्रह गरिन् ।
पुँजी, प्रविधि, बजार, अन्तरदेशीय प्रसारणलाइन निर्माण जलविद्युत् विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै उनले जलस्रोतमा वैदेशिक लगानी अत्यावश्यक रहेको बताइन् । ‘जलविद्युत् उत्पादनमा लगानी महत्वपूर्ण अवसर हो,’ भण्डारीले भनिन्, ‘नेपालमा जलविद्युत् विकासले छिमेकी देशहरु र उपक्षेत्रीय तथा क्षेत्रीय विकासमा नै लाभ लिन सकिन्छ ।’
त्यस्तै, आयोजक उर्जा विकास परिषद्का अध्यक्ष सुजीत आचार्यले १० वर्षमा ४०,००० मेगावाट जलविद्युत् विकासबाट मात्रै पनि नेपालीको प्रतिव्यक्ति आम्दानी ५००० डलर सहजै पुर्याउन सकिने उल्लेख गरे ।
कार्यक्रममा नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सले द्विदेशीय उर्जा व्यापारको अनुभवका आधारमा त्रिदेशीय, उपक्षेत्रीय र क्षेत्रीय उर्जा व्यापारको कानूनी र नियामकीय आधार निर्माण गरी उर्जाको क्षेत्रीय व्यापारबाट दक्षिण एसियाली देशहरुले संवृद्धि हासिल गर्न सक्ने बताइन् ।
त्यस्तै, भारतीय राजदूत मञ्जीभ सिंह पुरीले जलविद्युत्मा विदेशी लगानी आकर्षित गर्न भारतीय लगानीका दुई परियोजना अरुण तेश्रो र कर्णालीले उत्प्रेरकको भूमिका निर्वाह गर्ने बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोगका सचिव बैकुण्ठ अर्यालले भारतको उर्जा व्यापार कार्यविधिले नेपालको जलस्रोतमा विदेशी लगानीलाई कुण्ठित गरेको सवाल उठाएपछि भारतीय राजदूतले यसमा छलफल गर्न सकिने बताए ।
व्यापार अर्थशास्त्री डा. पोषराज पाण्डेले जलस्रोत विकास लामो समयदेखि नेपालको प्राथमिक एजेण्डा भएपनि यसको विकासका लागि पुँजी, प्रविधि र प्रसारणलाइन तथा बजारको जोहो गर्न नसक्दा अपेक्षित लगानी नआएको टिप्पणी गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x