निरन्तर वर्षापछि देशभर पहिरो र यातायात अवरुद्ध
			काठमाडाैं, १८ कार्तिक । देशका विभिन्न भागमा लगातार परेको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको छ, जसका कारण प्रमुख राजमार्गहरूमा यातायातमा ठुलो समस्या सिर्जना भएको छ।
नेपाल प्रहरीका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा यातायात अवरुद्ध भएको छ।
कोशी प्रदेश:
सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४, बरुण खोला क्षेत्रमा भारी वर्षापछि कोशी राजमार्ग प्रभावित भएको छ। धनकुटाको सांगुरीगढी गाउँपालिका–६ मा कोशी लोकमार्ग आंशिक रूपमा खुला भए पनि यातायात एकतर्फी सञ्चालन भइरहेको छ।
बागमती प्रदेश:
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन सीमा जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले दुई देशबीचको सीमा व्यापारीक गतिविधि र आवत–जावतमा असर पुर्याएको छ।
गण्डकी प्रदेश:
मुस्ताङ जिल्लाको बरागुङ मुक्तिचेत्र गाउँपालिका–३, छुसाङ र टाङ्बे बीचको कालाभिर नजिक जम्सम–कोरला सडक खण्ड पहिरोले पूर्ण रूपमा बन्द भएको छ।
प्रहरीले यात्रु र वाहन चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिँदै सावधानी अपनाउन आग्रह गरेको छ।



