‘कमला पुलको निर्माण तिब्र’: मन्त्री घिसिङद्वारा स्थलगत अनुगमन
काठमाडाैं, ५ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदी पुलको स्थलगत अनुगमन गरेका छन्। अनुगमनमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीललगायत टोली सहभागी थिए।
पुल निर्माण ढिलाइ भएको, नागरिकले लामो रुट प्रयोग गर्न बाध्य भएको र दैनिक आवत–जावतमा समस्या आएको गुनासोपछि मन्त्री घिसिङले अनुगमन गरेका हुन्।
निर्माण विवरण:
-
ठेक्का सम्झौता: २०६८ जेठ, रु २४.९१ करोड (भ्याटसहित)
-
प्रारम्भिक पूरा मिति: २०७१ मंसिर
-
हालको भुक्तानी: रु २०.४३ करोड (भ्याटसहित)
-
भौतिक प्रगति: ८३ प्रतिशत
-
वित्तीय प्रगति: ८२ प्रतिशत
-
पुलको लम्बाइ: ४६९ मिटर, १२ स्पान सहित
-
अतिरिक्त निर्माण: नदीको दुवै किनारतर्फ १३०० मिटर नदी नियन्त्रण, २०० मिटर पहुँच सडक
२०७८ असारमा आएको बाढीले दुई पाइलाहरू भासिएपछि चार वटा स्लावमा क्षति पुगेको थियो। हालसम्म दुई स्लाव हटाइएको छ भने बाँकी दुई स्लाव हटाउने र पाइल क्याप तथा स्टिम ढलान गर्ने काम बाँकी छ।
मन्त्रीको प्रतिबद्धता:
मन्त्री घिसिङले भने, “यो पुल मधेश क्षेत्रको विकासका लागि अत्यन्त महत्वपूर्ण छ, निर्माण कार्य तिब्र गतिमा अघि बढाइनेछ। विगतका अनियमिततामा दोषी देखिएका व्यक्तिलाई कानुन बमोजिम कार्वाही गरिनेछ।”
अनुगमनका क्रममा मन्त्री घिसिङले धनुषाबाट डुङ्गा चढेर सिरहा पुगे र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग संयुक्त रूपमा पुल निर्माणको निरिक्षण गरे।
निर्माण मोडल अनुसार ठेकेदारले डिजाइनसहित पुल निर्माण गर्ने छ। स्वीकृत परिमार्जित डिजाइन बमोजिम बाँकी कार्य आगामी असारभित्र सम्पन्न गरी पुल यातायातका लागि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।



