मार्क वाटको विष्फोटक शतकमा कर्णाली याक्सको पहिलो जित
काठमाडौं, ६ मंसिर । स्कटिस ब्याट्सम्यान मार्क वाटको शतकमा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध कर्णालीले एकपक्षीय रुपमा ९ विकेट जित निकालेको हो ।
विदेशी खेलाडी मार्क वाटले ४४ बलमा शानदार ११४ रन बनाउँदै कर्णलीलाई १२.२ ओभरमै विशाल लक्ष्य पार गराएका हुन्।
१५७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कर्णाली याक्सका लागि ओपनर मार्क वाटले खेलको दिशा नै बदलिदिए। उनको आक्रामक इनिङ्समा १२ वटा गगनचुम्बी छक्का र ६ वटा चौका समावेश थियो।
याेसँगै मार्क वाट दोस्रो संस्करणको एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघिको पहिलो संस्करणमा पोखरा एभेन्जर्सबाट खेलेका आन्द्रेस गौसले शतक प्रहार गरेका थिए । उनी एनपीएल इतिहासमा शतक हान्ने पहिलो खेलाडी पनि हुन् ।
वाटलाई अर्का विदेशी खेलाडी विलियम बोसिस्टोले २० बलमा २९ रन बनाएर उत्कृष्ट साथ दिए। दुवैको अविजित साझेदारीको मद्दतले कर्णलीले केवल १२.२ ओभरमा १ विकेट गुमाएर १६१ रन बनाउँदै सहज जित दर्ता गर्यो।



