मुगुमा ११ औँ राष्ट्रिय उद्योग दिवस : १२ सफल उद्योगी सम्मानित
मुगु, १० मंसिर । ‘औद्योगिक वातावरण सुधार दीगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ मुगु जिल्लाको गमगढीमा आयोजित कार्यक्रममा ११ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा जिल्लाका १२ जना सफल उद्योगीलाई सम्मान गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका अग्रणी उद्योगी–व्यवसायीलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख कमल भट्टले पछाडि परेको मुगुमा उद्योगी–व्यवसायीको मनोबल बढाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन दिन सम्मान कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार राडी–पाखी, सिलाइ–कटाइ, फर्निचर, चाउमिन, तरकारी खेती, पर्यटन तथा स्थानीय उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका उद्यमीहरूको निरन्तर परिश्रमका लागि सम्मान गरिएको हो ।
स्थानीय उद्योगीका गुनासा : ‘उत्पादन हुन्छ, बजार पाइँदैन’
सोरुगाउँपालिका–३ का उद्योगी जग्ग धामीले स्थानीय भेडाको उनबाट राडी, पाखी, गलैचा, टोपी, मफलरलगायतका उत्पादन बनाएर घर खर्च चलाउँदै आएको बताए । तर उत्पादनलाई सरकारले उपलब्ध गराउने अनुदान वास्तविक उद्योगीले नभई आफन्तभन्दा अफन्तलाई वितरण हुने गरेको गुनासो गरे । ‘बजार नपाएर उत्पादन थन्किन्छ, सहयोग पाउनेमा भने वास्ताविक उद्योगी परेनन्,’धामीले भने ।
उद्योगी हरि कृष्ण बिष्टले २० वर्षभन्दा बढी समयदेखि डालेचुक तथा स्याउका जुस, जाम, जेली उत्पादन गरिरहे पनि जिल्लाले आफ्नै उद्योगीलाई नचिन्ने गुनासो राखे । उनका अनुसार जिल्लामा उत्पादित जुस, फूल र अन्य स्थानीय वस्तु प्रयोग नगरी बाहिरबाट ल्याइएका सामग्री सरकारी कार्यक्रममा प्रयोग गरिँदा स्थानीय उद्योगी मारमा परिरहेका छन् ।
स्थानीय उत्पादन प्रयोगका लागि प्रशासनको प्रतिवद्धता
उद्योगीहरूको गुनासा सुनेपछि प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले अबदेखि जिल्लामा सरकारी कार्यक्रमहरूमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताए । कार्यालय प्रमुखहरूको बैठकमार्फत अनिवार्य स्थानीय सामग्री प्रयोग गर्ने व्यवस्था लागू गराइने उनको प्रतिबद्धता थियो ।
छायानाथ रारा नगरपालिकाकी उप–प्रमुख ऐश्वय शाह मल्लले जिल्लामा प्रदेश र संघबाट आउने कार्यक्रम मनपरी ढंगले वितरण हुने, सहकार्य बिना आफन्तहरूलाई भागबण्डा दिने प्रवृत्ति रोक्नुपर्ने आवश्यकता औंल्याइन् ।
जिल्ला समन्वय समिति मुगुका संयोजक मुन्जन बहादुर कार्कीले गत वर्ष कठोर अनुगमन गरिए पनि केही कमी कमजोरी रहेको स्वीकार्दै आगामी दिनमा सरोकारवालालाई फिल्डमै लगेर थप कडा अनुगमन गरिने जानकारी दिए ।
कर्णाली प्रदेश सभा सदस्य जित बहादुर मल्लले प्रदेशबाट जिल्लामा ल्याइने कार्यक्रमहरू लक्ष्य र उद्देश्यअनुसार कार्यान्वयन हुनु आवश्यक भएको उल्लेख गर्दै गलत काममा संलग्न जो–कोही कारबाहीको भागीदार हुने चेतावनी दिए । उनले सबै निकायलाई सहकार्यमा रही प्रभावकारी अनुगमन गर्न आग्रहसमेत गरे ।
११ औँ उद्योग दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रम उद्योगीका समस्या सुनिने, समाधानका प्रतिवद्धता जनाइने र स्थानीय उद्योग प्रवद्र्धनतर्फ राज्यको ध्यानाकर्षण गराउने महत्वपूर्ण मञ्च बनेको सरोकारवालाले बताए ।



