सिँगटी हाइड्रोको मुख्य लगानीमा ६१ मेगावाट विद्युत् उत्पादन हुने
दोलखा, १७ मंसिर । दोलखास्थितको सिँगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तीय ऋण लगानी सम्झौता सम्पन्न भएको छ ।
नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले एक कार्यक्रममा संयुक्त रुपमा हस्ताक्षर गरेपछि वित्तीय व्यवस्थापन टुङ्गो लागेको सिँगटी हाइड्रोका सञ्चालक श्याम खतिवडाले जानकारी दिए
मनाङको नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो । आयोजनाको प्रवर्धक कम्पनी नारखोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग यस अघि नै विद्युत् खरिद सम्झौता पिपिए भइसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी आर्थिक व्यवस्थापन भएको हो ।
नारखोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाको हेडरेस टनेल लगभग आठ किलोमिटर रहेको छ । आयोजनाको बाँध तथा हेडवक्सएका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा हुने र उक्त बाँधस्थलबाट सुरुङमार्ग हुँदै नासोङ गाउँपालिकामा रहने विद्युत् गृहमा नार्पा भूमि र नासोङ गाउँपालिका हुँदै आएको सुरुङमार्गमार्फत पेनस्टक पाइपको प्रयोग गरी विद्युत् गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ ।
आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ ।
आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रहेकोमा बैंकको कर्जा नौ अर्ब ६३ करोड र स्वपूजी तीन अर्ब २१ करोड रहेको छ । सिँगटी हाइड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।
आयोजनाले तीन वर्ष भित्र विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेकाे छ ।



