२२ लाखले काठमाडौं छाडे, उपत्यका सुनसान
काठमाडौं, ३१ असोज । करिब २२ लाख मानिसले दशै मनाउन उपत्यका छोडेको छन् । देशका विभिन्न स्थानबाट काठमाडौंलाई कर्मथलो बनाएका मानिसहरु महान चाड दशैं मनाउन आ आफ्नो पुर्खौली थलो जाँदा काठमाडौं सुनसान देखिन थालेको छ । दिनहु धुलो धुँवाको प्रकोप सहनुपर्ने उपत्यकावासीले पनि दशैं विदाको केही दिन भने स्वच्छ महसुस गर्न थालेका छन् । बाटोमा ट्र«ाफिक जामको समस्या झेल्नुपरेको छैन ।
महानगर ट्राफिक प्रहरी विभागका अनुसार हिजो मंगलबारसम्म २२ लाख मानिसले स्थलमार्ग भएर उपत्यका छाडेका छन् । विगत ४ दिनको अवधिमा सो आँकडा निकालिएको हो ।
काठमाडौंबाट टाढा पर्ने स्थानका मानिसहरुले अगाडि नै उपत्यकाका छाडिसकेको भए पनि काठमाडौं नजिकको स्थानहरु जस्तै सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायतका जनताले केही ढिला उपत्यका छाड्ने हुँदा यहाँबाट बाहिरिनेको संख्या अझै बढि हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नेपालको सबैभन्दा ठूलो र लामो मानिएको दशैंमा मानिसहरु विजया दशमीको दिनसम्म पनि घर फर्कन कोशिस गर्ने गर्दछन् । यसपाली शुक्रबार विजया दशमी परेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार दशैभरिमा करिब २४ लाखले उपत्यका छोड्ने अनुमान गरिएको छ ।
उपत्यकाबाहिर मानिसको जाने क्रम बढे पनि पछिल्लो केही वर्षदेखि उपत्यकाबाहिरबाट काठमाडौंमा आएर दशै मनाउने क्रम समेत बढेको छ । काठमाडौंमै घरजग्गा जोडिसकेको परिवारले गाउँमा रहेका आमाबुबालाई काठमाडौंमै बोलाएर दशै मनाउने चलन समेत पछिल्लो समय फस्टाएको छ ।