वालिङ्ग नगरपालिकामा अनलाइन भुक्तानी सेवा

काठमाडौं,७ बैशाख । स्याङ्गजाको वालिङ्ग नगरपालिकाले अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । यो सेवा सँगै अव सेवाग्राहीले नगरपालिकालाई वा नगरपालिकाले सेवाग्राही बीच नगद कारोवारको बाध्यकारी अवस्था हटेको छ । अनलाइनबाट भुक्तानी गर्ने कार्यका लागि वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच शुक्रबार सम्झौता भएको छ ।
नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच सम्झौता भएको हो । नगरपालिकाले वृद्धभत्ता, कर्मचारी तथा तलब, निवृत्तिभरण तथा सेवाग्राहीलाई नगद एवम् चेकमार्फत गरिने भुक्तानीहरु अब सेवाग्राहीको बैंक खातामा सिधै जम्मा गर्न सकिनेछ । नगरपालिकालाई सेवाग्राहीले भुक्तानी गर्नुपर्ने रकम अनलाइनबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने क्लियरिङ हाउसका कार्यकारी अधिकृत प्रधानले बताउनुभयो । “सेवाग्राही कार्यालयमा आउनै नपर्ने र लाइनमा बस्न पर्ने झन्झट नभई घरबाटै सेवा लिने र घरबाटै अनलाइनमार्फत आफ्नो बैंकको खातामार्फत नगरपालिकाको बैंक खातामा पठाउन सकिन्छ,” कार्यकारी अधिकृत प्रधानले भन्नुभयो । केन्द्रीय तहमा कार्य गर्दै आएको क्लियरिङ हाउसले अनलाइन भुक्तानी तथा यससम्बन्धी अन्य गतिविधि पहिलो पटक स्थानीय तहमा वालिङ नगरपालिकासँग गरेको कार्यकारी अधिकृत प्रधानले बताउनुभयो । ‘पेपर लेस’ अभियान र अनलाइन भुक्तानी सेवाका बारेमा नगरवासीलाई अभिमुखीकरण तालीम प्रदान गरिने वालिङ नगरपालिकाले जनाएको छ ।