१८ गते देखि उपत्यका सुविधासम्पन्न विद्युतीय बस चल्ने

काठमाडौ, १३ भदौ । काठमाडौ उपत्यकामा सुविधा सम्पन्न विद्युतीय बस चल्ने भएको छ । सुन्दर यातायातले पहिलो पटक सुविधा सहितको विद्युतीय बस सञ्चालन गर्ने भएको हो । कम्पनीले भदौ पहिलो साता देखि नै बस सञ्चालन गर्ने भने पनि प्राविधिक कारणले आगामी १८ गते देखि बस सञ्चालन गर्ने बताएको छ ।
बसमा बिरामीका लागि एक छुट्टै सिटको व्यवस्था गरिएको छ । सिटलाई फोल्डिङ गर्न सकिने छ । बिरामी नभएको अवस्थामा यो सिट प्रयोग गरिने छैन । त्यस्तै, अपाङ्गता भएका व्यक्ति लागि बसमा चार वटा सिट छुट्याइएको छ । बसको प्रत्येक सिटमा सिट बेल्ट छ भने यात्रु कहाँबाट चढे र कहाँ पुगे भन्नेसमेत हेर्न सकिने व्यवस्था छ ।
कम्पनीले चालु आवमा नै उपत्यकामा २५ बस गुडाउने लक्ष्य लिएको छ । प्रदेश १ र ५ मा समेत विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको छ । ४० सिट क्षमताका विद्युतीय बस प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा गुड्ने छन् । बस युरो ७ मापदण्डअनुसार छन् । बस साढे १० मिटर लामा छन् । कम्पनीका अनुसार बसमा चार वटा एसी हुनेछन् । जसमा ३० यात्रुसम्मले उभिएर यात्रा गर्न सक्नेछन् ।
बस काठमाडौका पाँच रुटमा गुड्ने छन् । पहिलो रुटमा बसले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रोमा नारायणथान, जावलाखेल(मेडिसिटी अस्पताल पुग्नेछ । तेस्रो रुट अन्तर्गत गोंगबु, सामाखुशी, गौशाला, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् । चौथो रुटमा ढुङ्गेअड्डा, कलंकी, त्रिपुरेश्वर, वीर अस्पताल, जमल, कृष्णपाउरोटी, रातोपुल, गौशाला, चाबहिल, बौद्ध, जोरपाटी,अत्तरखेल चल्नेछन् । पाँचौ रुट भने सूर्यविनायक, कोटेश्वर, बानेश्वर, वीर अस्पताल र जमल चल्नेछन् ।