हकप्रद शेयर खरिदमा तलरता अभावको प्रभाव परेन
काठमाडौं, २० पौष । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावको असर हकप्रद शेयर खरिदमा देखिएको छैन । पाँच विभिन्न कम्पनीहरुले हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । यस्तै लिलामीमा बिक्री गरिएको शेयरको खरिदमा समेत तरलता अभावको प्रभाव नपरेको बताइएको छ ।
‘तरलता अभावले हकप्रद शेयर खरिदको लागि असर गरेको छैन,’ एनआईबिएल क्यापिटलका महाप्रबन्धक मेख वहादुर थापाले बताए । ‘लिलामीमा बिक्री गरिएको शेयरहरुमा समेत तरलताको असर देखिएको छैन,’ उनले भने ।
अहिले सिभिल बैंक, सांग्रिला डेभपपमेन्ट बैंक, गण्डकी विकास बैंक, रिलायन्स फाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । यस्तै ८ कम्पनीहरुको हकप्रद शेयरको विक्री खुल्ला हुने भएको छ । यता वित्तीय प्रणालीमा तरलता संकुचनको अवस्थाले हकप्रद शेयरको खरिदमा असर पर्ने अनुमान गरिएको थियो । वित्तीय प्रणालीमा तरलता संकुचनले हकप्रद शेयरको खरिदमा असर नपुगेको थापाले बताएका छन् । ‘चुनावमा खर्च भएको पैसा वित्तीय प्रणालीमा नफर्केको मात्रै हो, तर मान्छेहरुसंग पैसा हातहातमै छ,’ उनले भने ।
यस्तै प्रिमियर इन्स्योरेन्सले निष्कासन गरेको थप नयाँ शेयर एफपिओमा समेत लगानीकर्ताहरुको सहभागिता सन्तोषजनक रहेको पाइएको छ । प्रिमियर इन्स्योरेन्सले जारी गरेको एफपिओमा १ लाख ८२ हजार आवेदनकर्ताहरुले ३ अर्ब २२ करोड रुपैयाँ बराबरको अवेदन दिएको एनएमवि क्यापिटलले जनाएको छ । प्रिमियर इन्स्योरेन्सले एफपिओ निष्कासनको लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको थियो । यसका साथै बुटवल पावर कम्पनीले निष्कासन गर्ने एफपिओमा समेत तरलता संकुचनले असर नगर्ने अनुमान लगाउन सकिन्छ ।