दशै सुरु भए पनि साना सवारीको टिकट बुकिङ खुलेन
काठमाडौं १२ असोज। दशै नजिकिदै गर्दा पनि साना सवारी यातायत व्यवसायीहरुले टिकट बुकिङ खोलेको छैनन् । बल्खु, चाबहिल, कोटेश्वर, कलंकी र गोंगबु लगायत स्थानबाट चल्ने टाटा सुमो, हाइस, बोलेरो, माइक्रो जस्ता साना सवारीले बुकिङ नखोलेका हुन् । सरकारको निर्देशनलाई बेवास्ता गरी तेब्बर भाडा लिएर व्यवसायीहरुले सवारी साधन चलाई रहेका छन् ।
राष्ट्रिय यातायात व्यवसायी महासंघसँग छलफल गरी यातायात व्यवस्था विभागले असोज गत ५ गतेदेखि नै टिकट बुकिङ खोलेको हो । महासंघअन्तर्गत रहेका १५० यातायात कम्पनीले टिकट बुकिङ खोलि सकेका छन् । तर, मध्यपूर्वी नेपालमा चल्ने साना सवारी कसैको मातहतमा नहुँदा बुकिङ खुल्न नसकेको हो । कसैको मातहतमा नरहेका र व्यक्तिले चलाइरहेका भएर साना सार्वजनिक सवारीको बुकिङ खोल्न नसकिएको यातायात व्यवस्था विभागको जनाएको छ ।
साना सार्वजनिक सवारीले गतवर्ष पनि अष्टमीको दिनमा मात्रै टिकट बुकिङ खोलेका थिए । गतवर्ष साना सवारीको समिति भएकाले टिकट बुकिङ खोल्न निर्देशन दिए पनि यस वर्ष बुकिङ खुलाउन खोज्दा पनि नसकिएको विभागले बताएको छ । विभागले बिहीवार साना सवारी व्यवसायीसँग छलफल गरेको थियो । आइतवार पनि बुकिङ खोल्ने विषयमा व्यवसायीसँग छलफल हुने भएकाले बुकिङ खोल्ने तयारी गरिरहेको विभागले बताएको छ ।