आज मन्त्रिपरिषद्मा अर्थमन्त्रीले राहतका कार्यक्रम पेश गर्ने

काठमाडौं, १६ चैत । आज बस्ने मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राहतका कार्यक्रम स्वीकृतिका लागि पेश गर्ने भएका छन् । महिला, बालबालिका तथा नागरिक उड्ययन मन्त्रालयले पुनस्र्थापना केन्द्र, धर्मशाला लगायतका ठाउँमा रहेका १,५०० भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई १० हजार रुपैयाँ राहत दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नगद या खाद्य सामग्री दुवै विकल्प खुला राखेर दैनिक ज्याला र मजदूरी गर्नेलाई राहतको प्रस्ताव गर्न लागेको अर्थ मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
कोरोना भाइरसका कारण लकडाउन भएपछि सबै उद्यम व्यवसाय बन्द भएका छन् र दैनिक ज्यालादारी गर्नेहरु यसको मारमा परेका छन् । सरकारले उनीहरुलाई राहत दिने कुनै व्यवस्था नै नगरेको भनेर आलोचना भैरहेको छ ।
सरकारलाई अर्थतन्त्र पुनस्र्थापनाका लागि पनि राहतका कार्यक्रम घोषणा गर्न दबाब परिरहेको छ । सरकारको ट्रेजरी २ खर्ब ४० अर्ब रुपैयाँ धनात्मक छ । सरकारले विभिन्न आयोजनामा काम हुन नसकेको पैसा अर्थतन्त्रको पुनस्र्थापनाका लागि लगाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको प्रत्यक्ष मार व्यहोरिरहेका पर्यटन क्षेत्र, व्यापार, उत्पादन तथा रोजगारी सिर्जनाका लागि सरकारले विभिन्न कार्यक्रमहरु ल्याउने बताएका छन् । पहिलो प्राथमिकतामा दैनिक ज्यालामजदूरी गर्नेलाई स्थानीय तहमार्फत् राहत दिने र ठूला कार्यक्रमसहित अर्थतन्त्र पुनस्र्थापना गर्ने उनले बताए ।