श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धी गरेका निर्णयहरू पुनरावलोकन गर्न आग्रह
काठमाडौं, २१ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले
श्रमिकको पारिश्रमिक भुक्तानी सम्बन्धी सरकारले गरेका निर्णयहरुमा पुनरावलोकन गर्न आग्रह गरेका छन् । आज यी दुई संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण निजी क्षेत्रको तर्फबाट सरकारलाई यस्तो आग्रह गरेका हुन् ।
लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको र उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आप्mना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको उनीहरुको भनाई छ । अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न अत्यन्त कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्वन्धमा सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ ।
श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा महासंघ, परिसंघ र चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट वैशाख १० गते सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राख्न आग्रह गरेका छन् । त्यस्तै उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा निर्णय गर्नु पर्ने बताइको छ ।