Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

‘संसद् बैठक सञ्चालनमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा’

‘संसद् बैठक सञ्चालनमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा’

काठमाडौं, २६ वैशाख । संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले आगामी बजेट अधिवेशनका लागि संसद् बैठक सञ्चालनमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा भएको जानकारी दिएका छन् । कोभिड–१९ को जोखिम हुन नदिई संसद् बैठक सञ्चालन गर्न डब्ल्यूएचओको मापदण्ड अनुसार सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाको तयारी पूरा गरिएको गरिएको उनले बताएका हुन् ।

‘विश्व स्वास्थ्य सङ्गठनले निर्देशन गरेका मापदण्ड पूरा गरी स्वास्थ्य क्षेत्रका विज्ञसँगको समन्वयमा बैठक सञ्चालनको तयारी गरिएको छ,’ उनले भने । कोरोना सङ्क्रमण रोकथामका लागि सतर्कता अपनाउन सांसद बस्ने सिटमा दायाँबायाँ एक मिटर ५० सेन्टीमिटर र पछाडि एक ३० सेन्टीमिटर दूरी कायम गरिएको छ ।

यसैबीच, संघीय संसदका सांसद र त्यहाँका कर्मचारीमध्ये विहीबार परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको संसद् सचिवालयले बताएको छ । संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि कोरोना परीक्षणका लागि बिहीबार संघीय संसद्का सांसद र अन्य गरी ४४१ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । उनीहरुको रिपोर्ट शुक्रवार मध्याह्न आएको हो । संघीय संसद्का प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् । बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको आज स्वास्थ्य परीक्षण गरिने जनाइएको छ ।
उक्त अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची छ । सुरुमा अधिवेशन प्रारम्भसम्बन्धी तथा राष्ट्रपतिबाट संघीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची बनाइएको छ । यसपछि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले मन्तव्य दिनेलगायत कार्यतालिका छ ।

आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । यस्तै जेठ १३ गते आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यतालिका छ भने जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x