Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोभिड–१९ अनुगमन समिति र लगानी, पूर्वाधार तथा रोजगार समितिले आपसी सहकार्य गर्ने

कोभिड–१९ अनुगमन समिति र लगानी, पूर्वाधार तथा रोजगार समितिले आपसी सहकार्य गर्ने

काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कोभिड–१९ अनुगमन समिति र सांसद् विनोद चौधरी नेतृत्वकोे लगानी, पूर्वाधार तथा रोजगार समितिबीच आवश्यक र आपसमा अन्तरसम्बन्धित विषयहरुमा सहकार्य गर्दै अघि बढ्ने विषयमा छलफल भएको छ । कोभिड–१९ को असरसम्बन्धि विद्यमान वस्तुस्थितिका सम्बन्धमा कोभिड–१९ अनुगमन समितिले अनुगमन गरिरहेको छ । विभिन्न सरोकारवालाहरुसँगको अन्तर्क्रिया, अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, अत्यावश्यक वस्तु र सेवाका आपूर्तिकर्ताले भोगेका समस्याहरु, सरकारको स्वास्थ्य सेवा तथा अन्य सेवा प्रवाहको स्थिति, क्वारेन्टीन, अस्पताल, कारागार व्यवस्थापन, रोजगारीमा प्रभाव, उद्योग–व्यवसायमा प्रभाव लगायतका विषयमा अवलोकन प्रतिवेदन तयार गरिने सहमहामन्त्री डा. महतले बताए ।
‘कतिपय अन्तरसम्बन्धित विषयमा नेपाली कांग्रेसका समितिहरुले आपसमा सहकार्य गरेर अघि बढ्नेमा सबै समितिहरु प्रतिबद्ध छन्,’ डा. महतले भने, ‘विषयगत समितिका रुपमा हाम्रो कार्यविभाजन भएपनि मूलतः हामी सबैको साझा दृष्टिकोण छ र हाम्रा सोच पार्टीका सिद्धान्तबाट निर्देशित छन् ।’
छलफलका क्रममा लगानी, पूर्वाधार तथा रोजगार समितिका संयोजक विनोद चौधरीले समितिले कोभिड–१९ ले खासगरी लगानी, पूर्वाधार र रोजगारमा परेको असर र यसको दूरगामी प्रभाव साथै असर न्यूनीकरणका लागि भएका प्रयास, गर्नुपर्ने र हुन नसकेका कामहरु समेतलाई केन्द्रित गरी समितिले सुक्ष्म अध्ययन गरिरहेको उल्लेख गरे । कोभिड–१९ ले उद्यम, व्यवसाय र लगानीमा बहुपक्षीय प्रभाव परेको साथै रोजगारीको ठूलो संकट देखिएकाले यसलाई सुक्ष्म ढंगले अध्ययन गरी लगानी, पूर्वाधार र रोजगार समितिले सुझावसहितको प्रतिवेदन तयार गरिरहेको छ । व्यवसाय, लगानी र रोजगारका सम्बन्धमा कोभिड–१९ अनुगमन समितिले गर्ने स्थलगत अध्ययनका क्रममा प्रत्यक्ष सहभागिता वा अनुगमन समितिले तयार पारेको दस्तावेजलाई समेत आधार मानेर क्षेत्रगत प्रभाव मूल्यांकन गरिनेछ । ‘भविष्यमा एकअर्को समितिको विज्ञता, प्राविधिक सहयोग, जनशक्ति आपसमा उपयोग गरेर अघि बढ्नेछौं,’ चौधरीले भने ।
नेपाली कांग्रेसले पार्टीलाई जीवन्त बनाउन जेठ महिनामा विभिन्न विषयगत समितिहरु गठन गरेको थियो । यसमध्ये लगानी, पूर्वाधार र रोजगार समितिले मुलुकमा लगानीको वातावरण, पूर्वाधार र रोजगारीमा केन्द्रित भइ नीतिगत हस्तक्षेप, व्यवहारिक सहजीकरण तथा यस क्षेत्रका समस्या र अवरोधहरुलाई राष्ट्रिय मुद्दाका रुपमा उठाइरहेको छ । समिति गठन भएयता बजेट तथा मौद्रिक नीतिमा सरकारलाई सुझाव दिनुका साथै, लगानी, पूर्वाधार र रोजगारलाई तीव्रता दिन विभिन्न सरोकारवालाहरुसँग सघन अन्तर्क्रिया गरिरहेको छ । समितिले सातै प्रदेशमा आफ्नो सञ्जालमार्फत् काम गरिरहेको छ । यसै सन्दर्भमा कोभिड–१९ ले लगानी र रोजगारीमा सिर्जना गरेको प्रभावका सम्बन्धमा अध्ययन गरिरहेको छ ।
कार्यक्रममा समितिका सहसंयोजक उमेश श्रेष्ठले नेपाली कांग्रेसका विषयगत समितिहरुले आपसमा अन्तरसम्बन्धित विषयहरुमा सहकार्य गरी एउटै दृष्टिकोण सहित प्रस्तुत हुँदा त्यसले बलियो जनमत निर्माण गर्ने बताए । नेपाली कांग्रेसका विभिन्न विषयगत समितिबीच समय–समयमा यस्ता अन्तर्क्रियाहरु आयोजना भइरहनुपर्ने र लगानी, पूर्वाधार तथा रोजगार समिति समितिको कार्यक्षेत्रसँग अन्तरसम्बन्धित विषयमा सबै समितिसँग मिलेर काम गर्न सधैं खुला रहेको उनको धारणा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x