‘ई-कमर्शमाथि धावा बोलिनु दुर्भाग्यपूर्ण’
काठमाडौं, १६ भदौ । निषेधाज्ञा उल्लंघन गर्दै घर तथा कार्यालयमा सामान डिलिभर गर्ने विभिन्न ई-कमर्श प्लेटफर्ममा कार्यरत कामदार तथा त्यसका सञ्चालकलाई प्रहरीले प्रक्राउ गरी दुःख दिएकोमा त्यसको तीव्र विरोध भएको छ । नवप्रवर्तनमा आधारित अत्यावश्यक वस्तु ग्राहकसम्म पुर्याउने यस्ता सेवामाथि धावा बोल्नु गलत भएको भन्दै नेपाल युवा परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्चले सरकारको ध्यानाकर्षण गराएको छ । विश्वभर ई-कमर्श व्यवसायले व्यापकता पाइरहेको छ । नेपालमा पनि क्रमशः लोकप्रियता कमाइरहेका यस्ता व्यवसायमाथि धावा बोलेर सरकाले व्यवसाय गर्न पाउने स्वतन्त्रतामाथि कुठाराघात गरेको उद्यमीहरुको निष्कर्ष छ ।
बन्दाबन्दि तथा हालको निषेधाज्ञामा समेत यस्ता व्यवसायहरुले आम मानीसहरुको दैनिक आवश्यकताका सामान लगायत खाद्यान्न सामाग्री घर घरमा पुर्याई आम उपभोक्तालाई आफ्नो घरमै बस्न हौसला दिई रहेका छन् । विषम समयमा यस्ता व्यवसायहरुले स्थानीय बजारमा उपभोक्ताहरूको आवागमन न्यून गरिरहेको तथ्य नबुझी कुनै व्यवसायमाथि जाइलाग्ने रवैया ठीक नभएको युवा उद्यमी मञ्चले उल्लेख गरेको छ । कोभिड-१९ को चुनौतिसंगै आर्थिक गतिविधि ठप्प रहेको यस्तो परिस्थितिमा वजारको वितरण प्रणालीलाई केहि भए पनि निरन्तरता दिई रहेका यस्ता व्यवसायलाई आवश्यक स्वास्थ्य सुरक्षा अवलम्बन गरि तत्काल संचालन गर्न दिन मञ्चले माग गरेको छ ।
अनलाईन प्रविधि मार्फत काम गरि घरमा सामान पुर्याउने यस्ता व्यवसायहरुले आफ्नो वितरण प्रणालीलाई अत्यन्त सुरक्षित राखेका छन् । ‘वितरण गर्ने क्रममा समेत सबै सावधानी अपनाईएका छन्, कर्मचारीहरूलाई पीपीई सूटको व्यवस्था गरिएको छ, डिलिभरी गर्ने भ्यानहरूलाई समेत प्रत्यक पटक स्यानीटाईज गरिन्छ । कारोवार सकेसम्म नगद रहित नै गर्ने प्रयास गरिरहेका छौं,’ नेपालको प्रमुख स्थानीय ई-कमर्स कम्पनी सस्तो डिलका संस्थापक अमुन थापाले भने, ‘हामीले हाल वितरण गरिरहेको करिव ५० प्रतिशत सामान सरकारी सहुलियतको हो । सस्तो डिलले नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेटको सामान निःशुल्क वितरण गर्दै आएको छ ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष च्याग अग्रवालले यो कठिन समयमा सरकार तथा निजी क्षेत्रले सहकार्य गरि अगाडि बढुनु पर्नेमा जोड दिएका छन् । महामारीको समयमा सरकारको प्राथमिकता निस्सन्देह नागरिकको स्वास्थ्यमा रहन्छ । त्यसैले नागरिकलाई सुरक्षित राख्न ई(कमर्स कम्पनीहरूले खेल्न सक्ने भुमिकालाई सरकारले सहयोग गर्नु आवश्यक छ । विश्वव्यापी रूपमै यस्ता ई(कमर्स कम्पनीहरूले कोभिड-१९ ले श्रृजित कठिन समयमा समेत ग्राहकहरूलाई घरको ढोकामै आवश्यक सामानहरु उपलब्ध गराई सकारात्मक प्रभाव पारेका प्रसस्त उदाहरणहरु छन् । यसले गर्दा ग्राहकहरु आ-आफ्नो घरमै सुरक्षित रहिरहन सम्भव हुने उनले बताए ।