विभिन्न स्थानमा २२ वटा काल्पनिक ट्राफिक
काठमाडौं, १६ भदौ । महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि विभिन्न स्थानमा २२ वटा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखेको छ । सडक दुर्घटना न्यूनिकरण गर्नका लागि महानरीय ट्राफिक महाशाखाले काठमाडौं उपत्यकाको विभिन्न स्थानका सडकको छेउमा डमी बनाएर राखेको हो । डमीको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा ५०० देखि १ हजार रुपैयाँसम्म जरिवाना हुने जानकारी खुलक प्लेकार्ड राखिएको छ ।
ट्राफिक डमीहरू महाशाखाको पहलमा काठमाडौ महानगरपालिकासँग सहकार्य गरी राखेको महाशाखाले जनाएको छ । ती डमीहरू सिंहदरबार, सिंहदोबाटो, माईतिघर, नयाँ बानेश्वर चोक,बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा राखिएका छन् ।
टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने ढकालले बताए ।
उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति हुन सक्छ ।
त्यस्तै, महाशाखाले काठमाडौ उपत्यकाको विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डहरू पनि राखेको छ । उक्त बोर्डमा सकेसम्म सामाजिक दुरी कायम राखौँ, कोरोना विरूद्धको स्वास्थ्य मापदण्ड सधै पालना गरौँ, जोर विजोर नियमको पालना गरौँ, सधै मास्क लगाएर हिडौँ, अनावश्यक हिड्डुल नगरौँ, ट्राफिक नियमको पालना गरौँ जस्ता शन्देशहरू उक्त बोर्डमा लेखिएका छन् ।