बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्छ : इप्पान उपाध्यक्ष
काठमाडौं, १६ भदौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको सेजन अर्थनीति बहश अन्र्तगत आयोजित ऊर्जा व्यापार सम्बन्धी कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी तीन बर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढेपनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने र माग भने तत्काल बढ्न नसक्ने अवस्था रहेको उनको भनाई छ ।
‘अहिलेको विद्युत खपतको अवस्था र तत्काल धेरै विद्युत खपत गर्ने गरी औद्योगिकरण नहुने अवस्थाले अबको तीन बर्षमा विद्युत माग १७÷१८ सय मेगावाटभन्दा बढी पुग्ने अवस्था छैन,’ उनले भने, ‘अहिलेको अवस्थाले चालु बर्षमा १ हजार, अर्को बर्ष २ हजार र तेस्रो बर्ष कम्तीमा एक हजार पाँच सय मेगावाट भन्दा बढी गरी तीन बर्षभित्र झण्डै ४५ सय मेगावाट बराबरको उत्पादन बढ्ने अवस्था छ, त्यो अवस्थामा बिजुली बेच्न नसके चार हजार मेगावाट विद्युत खेर जान्छ ।’ उनले गत चैत्रमा रातीको समयमा दुई सय मेगावाट विद्युत खेर गएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको बताउँदै आगामी बर्षको बर्षामा खेर जाने बिजुलीको परिणाम बढ्दै जाने दाबी गरे ।
विद्युत बेच्न पहिलो अन्तरदेशीय प्रसारण लाइन बनिसकेकोले एक हजार मेगावाटसम्म तत्काल निर्यात गर्न सकिने तथा अहिले निर्माण अघि बढेको तीन हजार मेगावाटसम्म निर्यात गर्न सकिने बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्मापछि धेरै सहज हुने उनले बताए । पछिल्लो समयमा अमेरिकी अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे विवाद रहेकोले बुटबल–गोरखपुर समयमै बन्न कुरामा समस्या देखिएको भन्दै उनले यसलाई राजनीतिको रुपमा लिनुभन्दा समयमै निर्माण गरेर बिजुली व्यापारका लागि पूर्वाधारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।
निःशुल्क विद्युतीय चुल्हो वितरण, विद्युती सवारी साधनमा प्रोत्साहन लगायतमार्फत विद्युतको खपत बढाउन सकिने भएपनि दुवैमा सरकारले कर बढाएकोले खपत बढ्ने अवस्था कम रहेको बताउँदै उनले उद्योगधन्दालाई सस्तो बिजुली दिएमा यसले स्वदेशी तथा विदेशी लगानीकर्तामा आकर्षण भई प्रतिष्पर्धी वस्तु उत्पादन हुन जाने भएकोले विद्युत खपत बढाउने उद्योगहरु बढ्न सक्ने बताए । उनका अनुसार, अहिले ७० प्रतिशतले दाउरा र धेरैले खाना पकाउनका लागि ग्याँस प्रयोग गरिरहेकोले आगामी बर्षहरुमा यसलाई विष्थापन गर्न सके एक हजार मेगावाट बिजुली थप खपन तथा १० लाख गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न सके अर्को दुई हजार मेगावाट थप खपतको समस्या रहेको भन्दै यसका लागि सरकारको नीति विद्युतीय चुल्हो र सवारीसाधनलाई प्रोत्साहन गर्ने खालको हुनुपर्छ ।
नेपालले भारतबाट हिउँदमा पाँच सय मेगावाटसम्म आयत गरिरहेपनि हालसम्म नेपालले भारतलाई बिजुली विक्री गर्न नसकेको बताउँदै गत बर्ष भारतमा गएको एक करोड युनिट बिजुली आदानप्रदानको क्रममा आपुर्ति मात्र गरिएको उनको भनाइ छ ।
नेपालको सम्वृद्धिका लागि मुख्य आधार पर्यटन र जलविद्युत रहेको बताउँदै समयमै जलविद्युत उत्पादन गरेर विक्री नसके सम्वृद्धि हुने सम्भावना टाढा पुग्ने उपाध्यक्ष गर्गको भनाई छ । हालसम्म सौर्य ऊर्जा (सोलार) बाट उत्पादित बिजुली भण्डारण (स्टोर) गर्न नसकेपनि हाल यसबारे अनुसन्धान भईरहेकोले यदि पत्ता लागेमा नेपालको जलविद्युत उत्पादन क्षमताको सान्र्दभिकता हराउने उनको तर्क छ । पछिल्लो समयमा सोलारको लागत ८० प्रतिशतले घटेको तथा अधिकांश देश सोलार निर्माणमा केन्द्रित हुन थालेकोले समयमै सरकारले उत्पादन, विद्युत खपत र विक्रीका लागि विशेष पहल गर्नुपर्ने उनको भनाइ छ ।
लगानी बोर्ड लगायतका निकायबाट अघि बढेका अधिकांश जलविद्युत आयोजनाहरु अध्ययनको चरणमा रहेको र उनीहरुले लगानी गर्ने निर्णय गरिनसकेको बताउँदै उपाध्यक्ष गर्गले पछिल्लो समयमा हरेक लगानीकर्ताहरुले बिजुली बजारबारे प्रश्न गरिरहेकोले सरकारले बजार सुनिश्चित गरेर जलविद्युतमा लगानी भित्र्याउनका लागि पहल गर्न ढिलाई भैसकेको बताए ।